हेटौँडा/माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका १३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । सोमबार सार्वजनिक भएको नतीजाअनुसार सामुदायिक विद्यालयका २ जना र संस्थागत विद्यालयका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । गत वर्ष मकवानपुर जिल्लाबाट ५ जनाले मात्रै ४ जीपीए ल्याएका थिए ।

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयबाट एक–एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै संस्थागत विद्यालयतर्फ हेटौँडा–४ स्थित नवोदय शिशु सदन र हेटौँडा–५ स्थित जीएस निकेतनबाट ३–३ जना विद्यार्थीले ४ जीपीए ल्याउँदा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल र हेटौँडा–४ स्थित व्रह्मदिक् एकेडेमीबाट २–२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै हेटौँडा–१३ स्थित फेमकोल एकेडेमीबाट १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

मकवानपुरबाट ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४ सय ३६ जना छन् । ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ७ सय ८९ जना, २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ९ सय ८२ जना विद्यार्थी छन् । २.४ जीपीएदेखि २.८ जीपीए ल्याउने विद्यार्थी ५ सय ५५ जना छन् । २ जीपीएदेखि २.४ जीपीए हासिल गर्ने विद्यार्थी ४३ जना रहेका छन् ।