मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका– वडा नम्बर २ मा आयोजना हुन लागेको तेस्रो वडाध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता २०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। खेलकुद विकास समिति मनहरी–२ को आयोजनामा हुने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरिएको छ।
मुख्य प्रायोजक: मनहरी गाउँपालिका–२ वडा कार्यालय र मनहरी गाउँपालिकाको सहप्रायोजनमा हुने प्रतियोगिता भोलि कात्तिक १४ गतेदेखि २३ गतेसम्म मनहरी–२, दोभानस्थित त्रिरत्न प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।
१० वर्षे महान् जनयुद्धका क्रममा भिमानमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना, सम्मान र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। वि।सं। २०८१ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको प्रतियोगितालाई यस वर्ष थप फराकिलो बनाउँदै मनहरी गाउँपालिकाभित्र मात्र सीमित नराखी देशका विभिन्न स्थानका क्लबहरूलाई सहभागी गराउन लागिएको खेलकुद विकास समिति मनहरी २ का संयोजक चन्द्र सिङ स्याङ्तानले बताए।
प्रतियोगिताले सहिदहरूको त्याग र बलिदानको स्मरण गर्नुका साथै युवा पुस्तामा खेलकुदप्रतिको रुचि, अनुशासन, आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा सामाजिक एकता कायम गर्नसमेत प्रतियोगिताले सहयोग पुर्याउने आयोजकको विश्वास छ।
मनहरी गाउँपालिका–२ मा तामाङ समुदायको उल्लेख्य बसोबास रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रको खेलकुद, कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीले जनही तीन हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
खेलकुद विकास समिति मनहरी–२ का संयोजक चन्द्र सिंह स्याङ्तानका अनुसार प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।




















