हेटौँडा/अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले जारी गरेको प्रादेशिक नीति, २०८३ को कार्यान्वयनबारे हेटौँडामा बहस गरिएको छ। नीतिमा उल्लेखित व्यवस्था व्यवहारमा उतार्न देखिएका चुनौती र समाधानका उपाय पहिचान गर्न सरोकारवालाहरू एकै ठाउँमा जुटेका हुन्।
नेत्रहीन युवा संघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजना तथा सिबिएम ग्लोबलको सहयोगमा सोमबार आयोजित अन्तरक्रियामा प्रदेश सरकार, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूले नीतिको प्रभावकारिताबारे आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पशुपन्छी तथा वनमन्त्री रमा आले मगरले अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्रका रूपमा नभई क्षमता र दक्षता भएका नागरिकका रूपमा हेर्नुपर्ने बताइन्। उनीहरूको क्षमता पहिचान गरी शिक्षा, स्वास्थ्य, रोजगारी र सरकारी सेवामा समान अवसर उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री आले मगरले सरकारी कार्यालयबाट सेवा प्रवाह गर्दा अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई सहज हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै नीति कार्यान्वयनलाई प्रभावकारी बनाउन सरोकारवालाबाट रचनात्मक सुझाव दिन आग्रह गरिन्।
अन्तरक्रियामा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामचन्द्र गिरीले प्रादेशिक नीतिको आवश्यकता, रणनीति, कार्यनीति, अनुगमन तथा मूल्यांकनका व्यवस्थाबारे जानकारी गराए। नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले नीतिको कार्यान्वयन अवस्था र त्यसक्रममा देखिएका समस्या तथा चुनौतीबारे प्रस्तुतीकरण गरे।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले प्रदेशस्तरीय नीति तथा योजना निर्माणदेखि कार्यान्वयनसम्म सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताए। उनले यस विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
श्रेष्ठकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ र प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच विस्तार गर्ने लक्ष्यसहित नेत्रहीन युवा संघ नेपाल २०६८ सालमा स्थापना भएको हो।

















