हेटौंडा । संघीय सरकारले पछिल्लो समय प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्दै गएको भन्दै मकवानपुरका सञ्चारकर्मीले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा आज हेटौंडामा आयोजित सरकारका प्रेस विरोधी गतिविधिका सम्बन्धमा सञ्चार संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारले सञ्चारगृह र सञ्चारकर्मीविरुद्ध गतिविधि गर्दै गएको भन्दै आपत्ति जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईंले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र बिना आधार सञ्चारगृहमा प्रवेश गर्ने सरकारी गतिविधि असह्य भएको बताए ।
उनले शाही शासनकालमा समेत सेना सञ्चारगृहभित्र प्रवेश गर्दा केही समय समस्या उत्पन्न भएको स्मरण गर्दै अहिलेको सरकारले भने सञ्चारमाध्यमलाई नै बन्द गराउने नियतका साथ गतिविधि गरिरहेको आरोप लगाए । सरकारले मिडियालाई एकपछि अर्को गर्दै समस्यामा पार्ने काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सरकारले कानुनविपरीत सञ्चारमाध्यममा प्रहरी पठाउने र सञ्चारकर्मीलाई पक्राउ गर्ने काम गरिरहेको बताए । उनले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको धारणा व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा, महासंघका पूर्वसचिव गणेश दर्पण अधिकारीलगायतले सरकारका प्रेस विरोधी गतिविधिबारे आफ्ना धारणा राखेका थिए ।


















