हेटौंडा/हेटौंडाबाट राप्ती पुलपारि हुँदै लोथरसम्म जोडिने सडकखण्ड जीर्ण बनेपछि नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका–१९ वडा समितिले तत्काल मर्मतसम्भार गर्न माग गरेको छ । समितिले सडक मर्मतको काम सात दिनभित्र सुरु गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ ।
समिति सभापति सुरज बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौंडा प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउ“दै सात दिनभित्र सडक मर्मतको काम सुरु गर्न माग गरेका हुन् । ध्यानाकर्षणपत्रमा सडकका विभिन्न स्थानमा ठूलाठूला खाल्डाखुल्डी परेको, सडककिनारा भत्किएको तथा सतह बिग्रिएको उल्लेख गर्दै सवारी आवागमन जोखिमपूर्ण बनेको जनाइएको छ । सडकको दुरवस्थाका कारण मोटरसाइकललगायत सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढेको र स्थानीयले दैनिक आवतजावतमा सास्ती खेप्नुपरेको समितिको भनाइ छ ।
सडकको खराब अवस्थाले स्थानीय नागरिकको सुरक्षा, सहज आवागमन, रोजगारी तथा व्यवसायमा समेत प्रत्यक्ष असर पारेको भन्दै समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । समितिले सडक मर्मतका लागि आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापन गरी तत्काल काम अघि बढाउन माग गरेको छ । सात दिनभित्र मर्मतसम्भार सुरु नभए प्रभावित क्षेत्रका नागरिक, युवा तथा सरोकारवालालाई एकजुट बनाएर शान्तिपूर्ण जनदबाबमूलक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
विवाद र अवरोध सिर्जना गर्नु आफ्नो उद्धेश्य नभएको उल्लेख गर्दै समितिले नागरिकको दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको सडक सुरक्षालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ । ध्यानाकर्षणपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र मनहरी गाउ“पालिकालाई समेत दिइएको छ ।




















