हेटौंडा । बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै किशोरकिशोरीमाथि निम्तिन सक्ने अनलाइन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जेसीआई हेटौंडाले ९० जना विद्यार्थीलाई साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।
बिहीबार जेसीज सप्ताह २०२६ अन्तर्गतको तेस्रो कार्यक्रमका रूपमा हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोग, साइबर सुरक्षा तथा अनलाइन जोखिमबारे सचेत गराइएको हो ।
जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक विवेक फुयालको संयोजनमा आयोजित अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका श्याम श्रेष्ठ, आईटी इन्जिनियर तथा क्यान महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष श्रीराज खतिवडा र क्यान महासंघ मकवानपुरका पूर्वअध्यक्ष एवं जेसीआई हेटौंडा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार शिवकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीलाई इन्टरनेटको सुरक्षित प्रयोग, डिजिटल प्रविधिको जिम्मेवार उपयोग तथा अनलाइन माध्यमबाट हुन सक्ने जोखिमप्रति सचेत रहनुपर्ने विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष पंकजदास बानियाँ र विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला विशेष अतिथिका रूपमा सहभागी थिए ।
जेसीज सप्ताह २०२६ का मूल संयोजक संजयकुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन् ।



















