सरल

भ्रष्टाचार नेपालको विकासको मुख्य बाधक बनेको छ । यसको प्रमुख कारणहरू समाज, संस्कृति, राजनीति र व्यवस्थापन प्रणालीमा गहिरो रूपमा जरा गाडेर बसेका छन् । हाम्रो देशमा कानून कार्यान्वयन गर्ने निकायहरू प्रभावकारी छैनन् । भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई सजाय दिनुपर्ने ठाँउमा, राजनीतिक दबाब र कमजोर अनुसन्धानका कारण उनीहरू उन्मुक्ति पाइरहेका छन् ।

राजनीतिक नेताहरूले आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि प्रशासनिक निकायहरूलाई दुरुपयोग गर्नु भ्रष्टाचारको मुख्य जड हो ।
सरकारी कामकाजमा पारदर्शिता र जवाफदेहिताको कमीले भ्रष्टाचारलाई झनै बढावा दिएको छ । बजेट, परियोजना, र ठेक्कापट्टामा हुने अपारदर्शिताले भ्रष्टाचारका लागि ढोका खोलिदिएको छ ।

समाजमा ‘काम गराउन घूस तिर्नु सामान्य हो’ भन्ने धारणा बलियो छ । यस्तो सोचले भ्रष्टाचारलाई सामान्यीकृत गरिदिएको छ ।
गरिबी, बेरोजगारी र न्यून तलबले मानिसहरूलाई अनैतिक बाटो अवलम्बन गर्न प्रेरित गर्छ । आर्थिक असमानताले भ्रष्टाचारको वृत्तलाई झनै गहिरो बनाउँछ । यो रोगको निदानका लागि प्रभावकारी कानूनी कार्यान्वयन, राजनीति र प्रशासन छुट्याउने व्यवस्था, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन , भ्रष्टाचारविरुद्ध जनचेतना अभियान, शिक्षा,रोजगार र न्यायमा लगानी गर्नुपर्छ । यस्तै, नेपालमा भ्रष्टाचार निर्मूल गर्न नागरिक, सरकार र सम्पूर्ण प्रणालीले सामूहिक प्रयास गर्नुपर्छ । यसका लागि सुधारको शुरुवात भने आफैंबाट हुनुपर्छ ।