हेटौँडा/ मकवानपुरको भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिका आसपासका होटल तथा खाजा पसल वरपर फोहोर बढ्दै गएको पाइएको छ। काठमाडौँ–हेटौँडा आवतजावत गर्ने यात्रुहरूले जथाभावी फोहोर फाल्दा सडक आसपासको वातावरण प्रदूषित बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन्।

काठमाडौँ र हेटौँडाबीच सञ्चालन हुने सुमो, विद्युतीय सवारी (ईभी) लगायतका सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूले सवारीसाधनबाटै प्लास्टिकजन्य फोहोर फाल्ने गरेको स्थानीयको भनाइ छ।

होटल तथा खाजा पसल आसपास मिनरल वाटरका बोतल, चिप्सका खोल, प्लास्टिकका झोला, चाउचाउका खोललगायतका फोहोर जथाभावी फालिएको देखिन्छ। यसले सडक आसपासको सौन्दर्य बिगार्नुका साथै वातावरणीय प्रदूषणको जोखिमसमेत बढाएको छ।

विशेषगरी लामो दूरीको यात्रा गर्ने क्रममा यात्रुहरूले प्रयोग गरेका खानेकुरा तथा पेय पदार्थका बोतल र खोल सवारीसाधनबाटै बाहिर फाल्ने प्रवृत्तिले समस्या थपिँदै गएको स्थानीयवासीको गुनासो छ।

स्थानीयले यात्रुहरूलाई जथाभावी फोहोर नफाल्न आग्रह गर्दै सार्वजनिक यातायात व्यवसायी, चालक, होटल सञ्चालक तथा सम्बन्धित स्थानीय तहले सरसफाइ र फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

सार्वजनिक स्थान सफा राख्नु सबैको साझा जिम्मेवारी भएकाले यात्राका क्रममा उत्पादन हुने फोहोर उचित स्थानमा व्यवस्थापन गर्ने बानीको विकास गर्न आवश्यक देखिएको छ।

केही समयअघि प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्ने भन्दै पहल अघि बढाइए पनि पछिल्लो समय उक्त कार्य सुस्ताएको पाइएको छ। प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहे पनि सम्बन्धित निकायको सक्रियता घट्दै गएको देखिन्छ।