हेटौँडा /हेटौँडा–७, नागस्वतीमा वृहत् योग विज्ञान शिविर सम्पन्न भएको छ । पतञ्जली योग वडा–७ समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा सम्पन्न शिविरको समापन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्नुभएको हो ।
शिविरको समापन गर्दे मुख्यमन्त्री थापाले वर्तमान समयमा बदलिँदो जीवनशैली र खानपानले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको हुँदा योगले यि समस्यामा कमी आउने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले बिहानको एकछिन समय सदुपयोग गर्दा स्वस्थ जीवनयापनमा सहयोग पुग्ने हुँदा योगमा चासो राख्नुपर्ने र प्रत्येक जिल्लाहरुमा योग समितिहरु गठन गरी योग सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।
हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको योग शिविरमा पाँच दिनको अवधिमा २ हजार बढी सहभागी भएको आयोजकले दावी गरेको छ । १२ गतेदेखि १७ गतेसम्म सञ्चालित शिविरमा हेटौँडा–७ सँगै नजिकका वडा नम्बर ८ र १५ का बासिन्दाको समेत शिविरमा सहभागिता रहेको थियो । योग समितिका केन्द्रीय प्रतिनिधि लवदेव मिश्रले शिविरमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । योगले नकारात्मक संगतबाट टाढा रहन, सकारात्मक सोचको विकास गर्न तथा खानपान र आहार–विहारमा सुधार ल्याउन मद्दत गर्ने आयोजकको भनाइ छ । साथै, नसर्ने रोगको जोखिम न्यूनीकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको अभ्यास आवश्यक रहेको आयोजकको भनाई छ ।
समापन कार्यक्रममा मुख्यमन्त्री थापासँगै वडा अध्यक्ष दामोदर गौतम, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भूषण कुमार उपाध्याय, पतञ्जली योग जिल्ला समिति चितवनका अध्यक्ष बलराम थापा, मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, महिला समितिका जिल्ला अध्यक्ष शशिकला थापा, जिल्ला महामन्त्री ऋषी ढकाल, वडाका संयोजक रामप्रसाद दाहाल लगायतको उपस्थिति थियो । यो शिविरसँगै पतञ्जली योग वडा–७ समितिले प्रत्येक दिन वडा कार्यालय परिसरमा योग कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।






















