काठमाडौं/कोशी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदाबारे पुनर्विचार गर्ने संकेत गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिकसञ्जालमार्फत् यस विषयमा नागरिकको रायसुझाव आह्वान गरेका छन् ।
मुख्यमन्त्री कार्कीले हालको पाँच दिने कार्यप्रणालीबाट अपेक्षित परिणाम प्राप्त नभएको उल्लेख गर्दै मन्त्रालय तथा मातहत कार्यालयमा पुनः सातामा छ दिन काम गर्ने व्यवस्था लागु गर्न सकिने संकेत गरेका छन् । उनले शनिबारमात्र बिदा राख्ने पुरानै प्रणाली उपयुक्त हुनसक्ने भन्दै जनताको धारणा जान्न चाहेको बताएका छन् ।
सामाजिकसञ्जालमा उनले लेखेका छन्—कोशी प्रदेशका मन्त्रालय र मातहत कार्यालयमा पुनः साताको छ दिन कार्यसञ्चालन गरी शनिबारमात्र बिदा दिने व्यवस्था लागु गर्दा कस्तो होला ? पाँच दिने कार्यसप्ताहबाट न कार्यदिन पर्याप्त देखियो, न त खर्च र इन्धन बचतमा उल्लेखनीय उपलब्धि हासिल भयो । यस विषयमा तपाईंहरुको सुझावको अपेक्षा गर्दछु ।
संघीय सरकारले इन्धन आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै चैत २२ गतेको मन्त्रिपरिषद् बैठकबाट सातामा दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय विहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।
तर, उक्त व्यवस्थाप्रति विभिन्न क्षेत्रबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ । सेवाग्राहीले सरकारी सेवा लिन कठिनाइ भएको, अस्पतालका ओपीडी सेवामा प्रभाव परेको तथा विद्यालय र कलेजमा अध्ययन—अध्यापनको तालिका व्यवस्थापन गर्न समस्या भएको गुनासो बढ्दै गएको छ । यही सन्दर्भमा कोशी प्रदेश सरकारले दुई दिने बिदाको प्रभावकारिताबारे पुनः समीक्षा गर्दै आवश्यक निर्णयका लागि सुझाव संकलन प्रक्रिया अघि बढाएको हो















