काठमाडौं : चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
आज अपराह्नदेखि यसको प्रभाव क्रमशः कम हुने देखिए पनि दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा पनि भारी वर्षा वा हिमपातको सम्भावना छ ।
राति भने देशभर साधारणतया बदली रही हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ





















