हेटौँडा/नेपाली फिल्म ‘गौँथली’ को प्रचारप्रसार अभियानअन्तर्गत निर्माण टोली बिहीबार हेटौँडा पुगेको छ। साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा कलाकार तथा निर्माण पक्षले फिल्मको विषयवस्तु र उद्देश्यबारे चर्चा गरेका हुन्।

पत्रकार सम्मेलनमा अभिनेता अरुण क्षेत्री, अभिनेत्री सिम्रन खड्का र निर्माता सुमन गिरी सहभागी थिए। उनीहरूले ‘गौँथली’ नेपाली गाउँघरको परिवेश, पारिवारिक सम्बन्ध, शिक्षा, विवाह र जीवन संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए।

निर्देशक डा. कपिल रिजालका अनुसार फिल्मले विवाहपछि पनि शिक्षाप्रतिको सपना बोकेकी एक युवतीको यात्रा र परिवारभित्रका भावनात्मक सम्बन्धलाई चित्रण गर्छ। निर्माण पक्षले ‘गौँथली’ शब्दले घर, परिवार र अपनत्वको भावलाई प्रतिनिधित्व गर्ने जनाएको छ।

डा. भोला रिजाल को कथामा आधारित फिल्म भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मका निर्माता डा. कपिल रिजाल र सुमन गिरी हुन्।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि फिल्ममा देखिनेछन्।

कार्यक्रममा अभिनेत्री सिम्रन खड्काले आफूले ग्रामीण परिवेशमा हुर्किएकी, शिक्षा पूरा गर्ने सपना बोकेकी युवतीको भूमिका निभाएको बताइन्। अभिनेता अरुण क्षेत्रीले फिल्मको कथा नेपाली समाजको यथार्थसँग जोडिएको भन्दै दर्शकले आफ्नै जीवनसँग मेल खाने अनुभूति गर्ने विश्वास व्यक्त गरे।

निर्माता सुमन गिरीले ‘गौँथली’ मनोरञ्जनमा मात्र सीमित नभई समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको उल्लेख गर्दै साउन १ गतेदेखि हलमा पुगेर फिल्म हेर्न दर्शकलाई आग्रह गरे।