काठमाडौं/हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री नीतु कपुरले आफ्नो ६८ औं जन्मदिन मनाएकी छन् । बाल कलाकारका रुपमा अभिनय यात्रा सुरु गरेकी उनी बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन् । तर, उनको जीवन केवल स्टारडममा सीमित छैन । संघर्ष, प्रेम, त्याग र पुनरागमनले भरिएको उनको जीवन धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

 सन् १९५८ जुलाई ८ मा दिल्लीमा जन्मिएकी नीतुको वास्तविक नाम हरमीत कौर हो । उनी जन्मिएपछि परिवार मुम्बई बसाइँ सरेको थियो । बाल्यकालमै बुबाको निधन भएपछि परिवार आर्थिक संकटमा प¥यो । घरको अवस्था कमजोर बन्दै गएपछि उनकी आमा राजी कौरले फिल्ममा काम गर्ने प्रयास गरिन् । तर, सफल हुन सकिनन् । त्यसपछि उनले आफ्नो सपना छोरीमार्फत् पूरा गर्ने निर्णय गरिन् ।

केवल आठ वर्षको उमेरमा नीतुले बेबी सोनिया नामबाट फिल्मीयात्रा सुरु गरिन् । सन् १९६६ मा सुरज फिल्ममार्फत् बाल कलाकारका रुपमा डेब्यु गरेकी उनले त्यसपछि दसलाख, दो कलियाँ, दो दुनी चार र वारिसजस्ता चलचित्रमा अभिनय गर्दै दर्शकमाझ लोकप्रियता कमाइन् । मुख्य अभिनेत्रीका रुपमा भने उनले सन् १९७३ मा प्रदर्शन भएको रिक्सावालाबाट पहिचान बनाइन् । त्यसपछि दिवार, खेलखेलमें, रफु चक्कर, कभीकभी, अमर अकबर एन्थोनी, धरम वीर, कस्मे वादे र यारानाजस्ता सफल फिल्ममा अभिनय गर्दै उनी बलिउडकी व्यस्त र सफल अभिनेत्री बनिन् ।

नीतु र ऋषि कपुरको पहिलो भेट सन् १९७४ मा जहरीला इन्सानको छायांकनका क्रममा भएको थियो । सुरुमा सामान्य विवाद र ठट्टाबाट सुरु भएको सम्बन्ध समयसँगै प्रेममा बदलियो । दुवैले धेरै फिल्ममा सँगै अभिनय गरे र उनीहरुको जोडी दर्शकमाझ अत्यन्त लोकप्रिय बन्यो । मिडिया रिपोर्टका अनुसार जब नीतुको प्रेमसम्बन्धबारे उनकी आमालाई थाहा भयो, उनी निकै रिसाएकी थिइन् । करिअर र उमेरको चिन्ताले आमाले उनलाई थप्पडसमेत हानेकी थिइन् । तर, पछि दुवै परिवारले सम्बन्ध स्वीकार गरे र विवाहको बाटो खुल्यो ।

सन् १९८० जनवरी २२ मा नीतु र ऋषि कपुर विवाह बन्धनमा बाँधिए । बलिउडकै चर्चित विवाहमध्ये एक मानिने उक्त समारोहमा दुवै जना अत्यधिक थकानका कारण केही समयका लागि बेहोस भएको घटना हाल पनि चर्चामा आउने गर्छ । नीतुको भारी लेहेंगा र लगातारका विवाह संस्कार तथा ऋषिमाथिको भीड र तनावका कारण यस्तो अवस्था आएको बताइएको थियो ।

विवाहपछि नीतुले परिवारलाई प्राथमिकता दिँदै फिल्मबाट लगभग दुरी बनाइन् । उनले छोरा रणवीर कपुर र छोरी रिद्धिमा कपुरसहनीको पालनपोषणमा आफ्नो अधिकांश समय खर्चिइन् । परिवारका लागि उनले धेरै ठूला फिल्मका प्रस्तावसमेत अस्वीकार गरेकी थिइन् । करिब २६ वर्षपछि नीतुले फेरि अभिनयमा पुनरागमन गरिन् । सन् २००९ मा लभ आजकलमा छोटो भूमिकापछि सन् २०१० मा ऋषि कपुरसँग दो दुनी चारमा अभिनय गर्दै दर्शकको मन जितिन् । त्यसपछि बेसरम, जुगजुग जियोलगायत फिल्ममा देखिएकी उनी पुनः सक्रिय भइन् ।

सन् २०२० अप्रिल ३० मा ऋषि कपुरको निधनपछि नीतुको जीवनमा ठूलो मोड आयो । कठिन समयका बाबजुद् उनले आफूलाई सम्हाल्दै काममा फर्किइन् । उनले विभिन्न रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिन् र अभिनयलाई निरन्तरता दिइन् । नीतु कपूरले एक अन्तर्वार्तामा भनेकी थिइन्–काममा फर्किनु मेरो घाउमा मल्हम लगाइदिएजस्तै थियो । केही समयका लागि मैले आफ्ना पीडा बिर्सन सकें । ६८ वर्ष उमेरमा पनि नीतु कपुर उत्तिकै लोकप्रिय छन् । सामाजिकसञ्जालमा सक्रिय रहेर परिवारका रमाइला क्षणहरु साझा गर्ने उनी हाल पनि आफ्नो सरल स्वभाव, सकारात्मक सोच र उत्कृष्ट अभिनयका कारण लाखौं दर्शकको मनमा बस्न सफल छन् ।