हेटौँडा /पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत सञ्चालन भइरहेको लोकदोहोरी प्रतियोगितामा १२६ जना सहभागीमध्ये ५२ जना दोस्रो चरणमा प्रवेश गरेका छन्।

‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले यही साउन २२ गतेदेखि ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन गरिरहेको हो। प्रतियोगिता संस्थाको ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ नामक टिकटक आईडीबाट प्रत्यक्ष प्रसारण हुँदै आएको छ।
नेपाल घर सुर्खेत भई हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका संस्थापक पारस बुढाका अनुसार नेपाली लोकगीत तथा संगीतको संरक्षण गर्दै गाउँ–बस्तीमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
संस्थाले वर्षमा दुई पटक प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसअघि नौ वटा सिजन सम्पन्न गरिसकेको संस्थाले हाल दशौँ सिजन सञ्चालन गरिरहेको जनाएको छ। संस्थाका अध्यक्ष सुन्दर खड्काको सभाध्यक्षता तथा समाजसेवी एवं सहयोगी खुशी थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिता सञ्चालनका लागि प्रमुख अतिथि खुशी थापा, व्यवस्थापक तारादेव डाँगी र सल्लाहकार मिलन थापाले जनही ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै, अध्यक्ष सुन्दर खड्काले प्रथम पुरस्कार, चितवनका मनिष ढकालले तेस्रो पुरस्कार तथा भोजपुरका नवराज मास्केले ३ हजार रुपैयाँ सहयोग गर्नुभएको संस्थाकी कोषाध्यक्ष शोभा उप्रेतीले जानकारी दिनुभयो। अशक्त सुनिता थारूलाई थप १ हजार रुपैयाँ सहयोग गरिएको पनि संस्थाले जनाएको छ।
प्रतियोगिताका निर्णायकमा नारायण न्यौपाने, गोमा ओली र बिमा कुमारी अनुरागी रहनुभएको छ।
प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीले ३१ हजार रुपैयाँ, द्वितीयले २१ हजार रुपैयाँ र तृतीयले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सान्त्वना हुने प्रतिस्पर्धीलाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको सञ्चालन मल्लिका गुरुङ, नवीन डी.सी., शान्त सेती मगर र गोरख डाँगीले गरिरहनुभएको छ। प्रतियोगिता हरेक दिन नेपाली समयअनुसार साँझ ७ बजेदेखि राति ११ बजेसम्म टिकटकमार्फत सञ्चालन हुँदै आएको छ।
हिजोसम्म सम्पन्न अडिसनबाट ५२ जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भएको संस्थापक पारस बुढाले जानकारी दिनुभयो। दोस्रो चरणमा छनोट भएका प्रतिस्पर्धीबीच लोकदोहोरीमा प्रतिस्पर्धा हुनेछ।











