हेटौँडा । मकवानपुरका प्रतिभाशाली बालगायक आर्मन ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ चरणमा प्रवेश गर्न सफल भएका छन्। ब्लाइन्ड अडिसनदेखि ब्याटल राउन्डसहितका विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उनले उत्कृष्ट प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
आर्मनलाई विजयी बनाउन मकवानपुरमा मतदान अभियान पनि सक्रिय रूपमा अघि बढाइएको छ। सामाजिक सञ्जालमा ‘मकवानपुरको शान’ भन्ने नारासहित उनलाई मतदान गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ। अभियान समितिका अनुसार साउन ९ गतेदेखि दर्शकका लागि मतदान प्रक्रिया खुला भइसकेको छ।
यसैबीच आयोजित पत्रकार सम्मेलनमा आर्मनको सांगीतिक यात्रा, प्रतियोगितामा उनले हासिल गरेका उपलब्धि तथा आगामी मतदान अभियानका योजनाबारे जानकारी गराइएको थियो। अभियान समितिले जिल्लाभर प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमार्फत मतदान गर्ने तरिका सिकाउने तथा स्वदेश–विदेशमा रहेका नेपाली समुदायसम्म समर्थन जुटाउने योजना सार्वजनिक गरेको छ।
जेठ २९ गतेदेखि हिमालय टेलिभिजन र कार्यक्रमको आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण भइरहेको ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ मा अब आर्मनको आगामी यात्रा दर्शकको मतमा निर्भर रहने भएकाले परिवार र अभियान समितिले सबैलाई मतदान गरी साथ दिन अपिल गरेका छन्।