हेटौंडा। ड्रीम्स म्युजिक स्कुल, हेटौंडाको आयोजनामा सञ्चालन भइरहेको ‘डान्स मेरो मनको जुनियर–२०८३’ को ग्रान्ड फिनाले आगामी साउन १० गते आयोजना हुने भएको छ।

हेटौंडा–४ स्थित ओम्याक्स हल मा हुने फाइनल प्रतियोगितामा छनोट भएका २१ जना प्रतिस्पर्धीले आफ्नो उत्कृष्ट नृत्य प्रतिभा प्रस्तुत गर्नेछन्। स्कुलका सञ्चालक अनन्त खुलालका अनुसार प्रतियोगितालाई भव्य बनाउन करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगितामा प्रथम हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्नेछन्। त्यसैगरी द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई पनि आकर्षक नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

फाइनल प्रतियोगिताबारे जानकारी दिन ड्रीम्स म्युजिक स्कुलको भवनमा आयोजित पत्रकार सम्मेलनमा स्कुल सञ्चालक अनन्त खुलालले प्रतियोगिताले बालबालिकाको नृत्य प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।