हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममार्फत् घोषणा गरेको छ ।
पालिकाको १९ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रन्जन कालाखेतीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा डिजिटल शासनलाई बलियो बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरुमा विभिन्न व्यवस्थापन सूचना प्रणाली (एमआईएस) लागु गरिने जनाइएको छ । पालिकाको आफ्नै मोबाइल एप तथा डिजिटल सेवाहरु विस्तार गर्ने योजना पनि समेटिएको छ । स्थानीय तहको सम्पूर्ण विवरण समेटिएको डिजिटल प्रोफाइल तयार गरी तथ्यमा आधारित योजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षाक्षेत्रमा सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारलाई मुख्य प्राथमिकता दिइएको छ । विद्यालयमा सूचना तथा सञ्चारप्रविधि प्रयोग बढाइने, शिक्षकहरुको क्षमता अभिवृद्धि गरिने तथा प्राविधिक शिक्षालाई विस्तार गरिने कार्यक्रम छ । विद्यार्थीहरुको सिकाइ उपलब्धि सुधारका लागि अतिरिक्त कक्षा, शैक्षिक परीक्षण तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
स्वास्थ्यतर्फ पालिकाले जिरो होम डेलिभरी कार्यक्रमलाई निरन्तरता दिने भएको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्य सुरक्षामा विशेष जोड दिँदै आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने जनाइएको छ । मानसिक स्वास्थ्य, किशोर स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य अभिलेख (डिजिटल हेल्थ) प्रणाली लागु गर्ने नीति पनि लिइएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा बाँकी रहेका बस्तीमा सुरक्षित खानेपानी सेवा विस्तार गर्ने, जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राखी पानीका स्रोत संरक्षण गर्ने तथा सरसफाइका कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ ।
पूर्वाधार विकासतर्फ सडकसञ्जाल विस्तार, पुल तथा कल्भर्ट निर्माण, कृषि सडक स्तरोन्नति र सार्वजनिक भवनहरु निर्माण तथा मर्मतलाई निरन्तरता दिइने जनाइएको छ । कृषिक्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्धेश्यले कृषकलाई प्रविधि, तालिम तथा अनुदानमार्फत् सहयोग गर्ने नीति ल्याइएको छ । उन्नत विउ, सिचाईं, पशुपालन, दुग्ध उत्पादन तथा कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गरिने जनाइएको छ । स्थानीय उत्पादनको बजारीकरण र कृषिमा युवाको आकर्षण बढाउने कार्यक्रम पनि समेटिएको छ ।
पालिकाले सामाजिक समावेशीकरणलाई समेत जोड दिएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र सहभागिता सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सभामा उपाध्यक्ष सीता पुलामीले आर्थिक विधेयक पेश गरिन् । अधिवेशनको पहिलो बैठकमा कार्यपालिका सदस्य शिवप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरे भने शून्य समयमा गाउँसभा सदस्य नवराज सुबेदी, रामप्रसाद सुबेदी र हीरा प्रजाले धारणा राखे । सभामा ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीले चालु आर्थिक वर्ष २०८२/०८३ का मुख्य उपलब्धी तथा कार्यक्रमहरुबारे सभामा जानकारी गराए


















