हेटौंडा/हेटौंडा–५ निवासी समाजसेवी तथा सहकारी अभियान्ता सुधिर थापा ले आफ्ना आमा–बुबाको सम्झनालाई समाजसेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। उनले करिब ३ लाख ५६ हजार रुपैयाँको व्यक्तिगत लगानीमा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण गरेर धार्मिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएका हुन्।
आमा–बुबालाई भगवानको स्वरूप मानिने नेपाली समाजमा सुधिर थापाले निर्माण गरेको उक्त प्रवेशद्वार केवल संरचना मात्र नभई श्रद्धा, सम्मान र सामाजिक उत्तरदायित्वको प्रतीक बनेको छ। “आमा–बुबाको सम्झनामा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण गर्ने मेरो सानो सपना आज पूरा भएको छ,” भन्दै उनले यो कार्य आफ्ना अभिभावकप्रतिको श्रद्धाञ्जली र समाजप्रतिको समर्पण भएको बताएका छन्।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय थापा विभिन्न सामुदायिक तथा सहकारी गतिविधिमा समेत अग्रसर रहँदै आएका छन्। स्थानीय स्तरमा हुने सामाजिक कार्य, धार्मिक कार्यक्रम तथा जनहितका अभियानमा उनको सहभागिता उल्लेखनीय मानिन्छ।
उनको यो कार्यले समाजमा आमा–बुबाप्रतिको सम्मान, धार्मिक आस्था र सामाजिक सेवाप्रतिको जिम्मेवारीलाई थप प्रेरणा दिएको स्थानीयवासी बताउँछन्। व्यक्तिगत स्मृतिलाई समाज उपयोगी कार्यमा रूपान्तरण गर्ने सुधिर थापाको प्रयास अहिले धेरैका लागि प्रेरणाको विषय बनेको छ।
















