हेटौँडा/भोलि सोमबारदेखि शैक्षिक सस्थाबाहेकका सरकारी तथा अन्य कार्यालय समय बिहान ९ बजेखि दिउँसो ४ बजेसम्म कायम हुने भएको छ । नेपाल सरकारको पूर्वनिर्धारित समयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म हप्ताको ५ दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय खुल्ने भएको हो ।
नेपाल सरकारले गत २०८२ चैत्र २३ गतेदेखि हप्तामा सोमबारदेखि शुक्रबारसम्म पाँच दिन कार्यालय खुल्ने निर्णयसँगै समय पनि परिवर्तन गरी कार्यालय खुल्ने समय माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरेको थियो । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म अर्थात् हिउँदको समयमा दिन छोटो हुने हुनाले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय समय कायम गरिएको थियो ।
यसअघि विसं २०७९ जेठ १ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र बैदेशिक मुद्रा सञ्चितिका लागि भन्दै हप्ताको दुई दिन बिदा दिई पाँच दिनमात्र कार्यालय सञ्चालन गर्ने निर्णय गरे पनि १ महिना पनि टिक्न नसकी असार १ गतेदेखि नै पुरानै कार्यालय समय कार्यान्वयन गरिएको थियो ।
सोमबारदेखि कार्यालय समय परिवर्तन हुने सूचना कतिपय कार्यालहरुले सार्वजनिक गरेका छन् । हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाले कार्यालय समय परिवर्तन भएको सूचना जारी गरेको छ । संस्थाले शुक्रबार सूचना जारी गर्दै कात्तिक १६ गतेदेखि कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म रहने जनाएको छ । यस्तै, संस्थाको नगद कारोबारको समय भने बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कायम गरिएको संस्थाले जनाएको छ । सार्वजनिक बिदाको समयमा पनि संस्थाको सुबिधा काउन्टर खुल्ने भएकोले सार्वजनिक बिदाको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने पनि संस्थाले जनाएको छ ।





















