हेटौँडासहित मकवानपुर जिल्लाका विभिन्न स्थानहरूमा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको सङ्क्रमणले हामीलाई चिन्तित तुल्याएको  छ ।

लम्पी स्किन एक संक्रामक विषाणुजन्य रोग हो, जसले गाईभैँसीमा उच्च ज्वरो, शरीरका विभिन्न भागमा गिर्खा, अल्सर, आँखा, नाक र श्वास प्रणालीमा गम्भीर असर पार्ने गर्छ । दुध उत्पादनमा ह्रास, पशुको झोक्रिने अवस्था र अन्ततः मृत्यु हुने जोखिम समेत रहने भएकाले यो रोगले कृषकको रोजीरोटीमा सीधा असर पार्छ । यस्तो गम्भीर अवस्थामा जिल्ला पशु सेवा कार्यालय हेटौँडाद्वारा सञ्चालन गरिएको खोप अभियान सराहनीय छ । यो अभियानलाई अझ प्रभावकारी बनाउन व्यापक जनचेतनामूलक कार्यक्रम, प्रत्येक वडासम्म सहज पहुँच, पशु स्वास्थ्य परिक्षण शिविर र आवश्यक औषधि तथा उपकरणको तत्काल उपलब्धता सुनिश्चित गर्नु अत्यावश्यक छ ।

स्थानीय तह, कृषि प्राविधिक, पशु स्वास्थ्यकर्मी र सञ्चार माध्यमहरू सबैले समन्वयमा काम नगरेसम्म यस्तो रोगको नियन्त्रण कठिन छ । हामी जस्ता साना किसानहरूको आजीविका पशुपालनमा भर पर्छ । रोगका कारण हाम्रो आयको प्रमुख स्रोत गुम्ने खतरा रहन्छ, जुन आर्थिक मात्र होइन, मानसिक पीडाको कारण पनि बन्न सक्छ ।

अतः सम्बन्धित निकायले यो समस्यालाई प्राथमिकतामा राखी, समयमै नियन्त्रण, रोकथाम र उपचारका सबै उपायहरूमा अझ चनाखो भूमिका खेलोस् भन्ने अपेक्षा गर्दछु ।
– समिर पौडेल, हेटौँडा ५, मकवानपुर