२१ असार, काठमाडौं । एस्प्रेसो, क्यापचिनो कि अमेरिकानो ? अट्याच बाथरुम, हट सावर, डाइनिङ पाल, हिटर, बेकरी, फ्रि वाईफाई अनि बार पनि ! झट्ट सुन्दा कुनै शहरी क्षेत्रको सुविधाजनक होटल स्मरण होला ।
तर, यो ५,३६५ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुग्नेहरूको सुविधाका लागि गरिएको व्यवस्थापन हो । विश्वकै अग्लो शिखर सगरमाथाको आधारशिविरमा पाइने सेवा–सुविधा राजधानीको कुनै महँगो रेस्टुराँमा भन्दा कम छैनन् ।
हिटिङ प्रणाली सहितको आनन्ददायी टेन्ट मात्रै होइन, त्यहीं टेबल टेनिस पनि खेल्ने हो कि ? दुई दशकदेखि सगरमाथा आरोहीका लागि पथप्रदर्शकको काम गरिरहेका लाक्पा राङ्डु शेर्पा (५७) भन्छन्, ‘पैसा छ भने काठमाडौंमा पाइनेजति सुविधा सगरमाथाको बेसक्याम्पमै पाइन्छ ।’
सन् २००५ मा उनी पहिलो पटक तिब्बततर्फबाट सगरमाथा चढेका थिए । अर्को वर्ष नेपालतर्फबाट शिखरमा पुगेका लाक्पाको स्मरणमा सन् २०१० अघिसम्म पनि सगरमाथा आधारशिविर यतिविधि व्यावसायिक भइसकेको थिएन । आरोही शेर्पा वा अरू यति विघ्न सुविधाभोगी थिएनन् ।
‘सबैको सामान्य टेन्ट हुन्थ्यो, कोही राम्रो गर्नेले बाहिर ढुंगाहरूले छुट्याएर किचन बनाउँथे’ उनले स्मरण गरे, ‘कोहीले तल गाउँबाट ल्याएर काठको धुरी जस्तो बनाएर बस्थे ।’ लुक्लाबाट कहिले मान्छे, कहिले खच्चडले खानेकुरा बोकेर आधारशिविरसम्म पुग्दा अधिकांश बिग्रिसकेको हुन्थ्यो ।’
‘त्यसबेला सागसब्जी लैजान लगभग १५ दिन लाग्थ्यो, ३० किलो लिएर गयो भने प्रयोग हुने भनेको ५ देखि १० किलो मात्रै हुन्थ्यो’, शेर्पाले भने, ‘त्यसैले खानेकुरामा पनि त्यतिबेला भेराइटी कम हुन्थ्यो, आधारशिविरमा पैसा हुने र नहुने छुट्टिन्नथ्यो ।’
उनी विश्वको अग्लो स्थानमा यो तहको सुविधा कल्पनै नगरेको सुनाउँछन् । ‘तर अहिले मासु खाने भनेर बिहान अर्डर गर्यो, बेलुका काठमाडौंबाट ताजा आइपुग्छ’ शेर्पाले भने, ‘सागसब्जी पनि त्यसैगरी आउँछ ।’
बरु यसले वातावरण र स्थानीय रोजगारीमा पनि असर पारेको भन्दै सगरमाथा आधारशिविर नजिकसम्म सामान लैजान चौंरी, जोप्के र भरिया नै प्रयोग गर्नुपर्ने भन्दै स्थानीयले पटक–पटक आवाज उठाउने गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयका विज्ञान, प्रविधि एवं इञ्जिनियरिङ संकायका डीन एवं जलवायु अनुसन्धानकर्मी डा. सुदीप ठकुरीका अनुसार, सगरमाथा क्षेत्रमा बाक्लो उपस्थितिसँगै बढेको मानवीय गतिविधिले वातावरणमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
‘जति धेरै सुविधा उपभोग गर्ने क्रम बढिरहेको छ, त्यसले हिमालको वातावरणमा महसुस हुने प्रभाव पारिरहेको छ’ उनी भन्छन्, ‘अझ उच्च हिमाली क्षेत्रको इकोसिस्टमलाई सधैं संवेदनशील मानिन्छ, त्यही अनुपातमा हामी पनि संवेदनशील हुनुपर्नेमा यसबारे एकदमै कम मात्र बहस भइरहेको छ ।’
डा. ठकुरी सहितको टोलीले सन् २०१५ मा सगरमाथा आधारशिविरबारे अध्ययन गरेको थियो । त्यसक्रममा आधारशिविर प्रति वर्ष एक मिटरको दरले पातलिंदै गएको देखिएको थियो ।
‘१९६० देखि पाँच दशकको अध्ययन गरेका थियौं, त्यसक्रममा झण्डै १५ प्रतिशतले स्नो लाइन पनि माथि सरेको देखिन्छ’ उनी भन्छन्, ‘आधारशिविरभन्दा अलि माथिको भागमा भने ६० सेन्टिमिटरले भूभाग पातलिंदै गएको देखिएको थियो ।’
ठकुरीका अनुसार, सगरमाथा क्षेत्रमा १९७० र ८० को दशकतिर झण्डै ५०० वटा साना तालहरू थिए । तर, सन् २०१९ मा भएको एक अध्ययन अनुसार, अहिले तापक्रम बढेका कारण यस्ता हिमतालहरूको संख्या १५५० पुगिसकेको छ ।
नेपाली सेनाका आरोही सेनानी आदित्य कार्की सन् २०१३ मा सगरमाथा आरोहण गरेपछि सन् २०२४ मा फेरि आधारशिविर पुगे । ‘आधारशिविरबाट माथि लाग्दा उकालो चढ्नुपर्ने जस्तो अप्ठ्यारो बाटो जस्तो हुन्थ्यो, अहिले समथर जस्तो भइसकेको छ’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘गोरकसेपबाट कटेपछि बेसक्याम्प छिर्ने एउटा पोइन्ट छ, त्यो उचाइको हिसाबले पनि एक घण्टाको दूरी हुन्थ्यो तर अहिले ४० मिनेट जस्तोमा झरेको छ ।’
आफू वातावरणीय अध्ययन गर्ने व्यक्ति नभए पनि अनुभवका हिसाबले आधारशिविर प्रवेश पोइन्टको तह र माथिल्लो ‘क्राम्बन्च पोइन्ट’ सम्मको ‘इन्क्लाइन’ नै घट्दै गएको महसुस गर्न सक्ने उनी बताउँछन् । अर्को चाहिं पहिले तलबाटै हिउँ हुँदै हिंड्नुपर्नेमा अहिले अधिकांश ढुंगाहरू मात्र देखिने कार्कीको अनुभव छ ।
‘पहिलो कुरा त हिउँ नपरेर पनि होला, तर कारण यति मात्र होइन’ उनी थप्छन्, ‘हामीले आधारशिविर स्थापना गर्दा जति कुराहरू ग्राउण्डलाई मिलाउनलाई गर्छौं, त्यो छाड्दा जस्ताको तस्तै नगर्ने, त्यतिकै छाड्ने भएकाले पनि असर पारिरहेको छ भन्ने मलाई लाग्छ ।’
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को ‘स्नो अपडेट रिपोर्ट’ मा पनि पछिल्लो दुई दशकमा हिन्दुकुश तथा हिमालय क्षेत्रमा सामान्यभन्दा कम हिउँ परिरहेको उल्लेख छ । प्रतिवेदनमा हिउँ कम परेको मात्र नभई, जमिनमा बरफ बनेर बसिरहने समय पनि घट्दो क्रममा रहेको उल्लेख छ ।
नेचर जर्नलको ‘क्लाइमेट एण्ड एट्मोस्फेयरिक साइन्स’मा प्रकाशित विवरणमा पनि सन् १९९० यता हिमालको हिउँ पग्लिने क्रम तीव्र बनेको उल्लेख छ । झण्डै दुई हजार वर्षमा बनेको हिउँ ३० वर्षमै पग्लिएको र हिमाली क्षेत्रमा तापक्रम पनि बढ्दो क्रममा रहेको भनिएको छ ।
वातावरण अनुसन्धानकर्ता ठकुरी अधिकांश अध्ययनको सार हिमालको हिउँ माथिल्लो भागतिर सर्दै गएको र पग्लिने क्रम बढ्दो छ भन्ने रहेको बताउँछन् । र, यसको कारण जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो अनियन्त्रित मानवीय गतिविधि भएको उनको भनाइ छ ।
अनि, सुरु भयो व्यवसायीकरण
सगरमाथा आरोहणको इतिहास ब्रिटिश इष्ट इण्डिया कम्पनीसँग जोडिन्छ । त्यतिबेला दक्षिण एशियाली क्षेत्रमा ‘म्यापिङ साइन्स’को सुरुआत भएकै थिएन । इतिहास अनुसार, भारतको विभिन्न राज्यहरूमाथि जित निकालिरहेका बेला बैङ्गलोरमा आक्रमण गर्न ब्रिटिशहरूलाई गाह्रो भइरहेको थियो । पटक–पटकको प्रयासपछि शासक हैदर अलीलाई हराएपछि युद्धमा सामेल विलियम ल्यामटन नामक सर्भेयरले सरकारलाई एउटा प्रतिवेदन बुझाएका थिए । जसमा युद्धका लागि नक्सा अनिवार्य भए पनि त्यो नहुँदा रणनीति बनाउन र कार्यान्वयन गर्न कठिनाइ भएको उल्लेख थियो ।
त्यतिबेला युरोपमा नक्सांकनको चलन सुरु भइसकेको थियो । आफूहरूले पनि नक्सांकन नगरी उपाय नभएको निष्कर्षपछि १० अप्रिल १८०२ मा ‘ग्रेड ट्रिगोनोमट्रिक्स सर्भे अफ इण्डिया’ खडा भयो र भारत खण्ड अन्तर्गतको उपमहाद्वीपहरूको सबै नक्सांकन सुरु भयो ।
यो परियोजना अघि बढाउने क्रममा विलियम ल्यामटनको १८२३ मा निधन भएपछि उनको उत्तराधिकारीको रूपमा जर्ज एभरेष्टले यसको नेतृत्व गरे । सन् १८३० मा उनी ब्रिटिश आर्मीको सर्भेयर जनरल पनि भएका थिए । उनले उत्तराखण्डदेखि अगाडिको क्षेत्रको सर्भे गर्दै आउँदा बिहान सेता हिमालहरू देखे । त्यसपछि हिमालय रेञ्जसम्म गएर अध्ययन गर्छु भन्ने भएर उनी नेपालसम्म आएका थिए ।
‘त्यसबेला संसारमा रसियन बोलवाला थियो, त्यसक्रममा उनीहरू रसियन साम्राज्यवादको सिमाना पत्ता लगाउने सिलसिलामा नक्सा कोर्दै यहाँसम्म आइपुगेको इतिहास छ’ अध्येता खिमलाल गौतम भन्छन्, ‘त्यतिबेला संसारको अग्लो हिमाल इक्यूटरमा पर्ने हिमाल रहेछ, त्यो जम्मा ६००० मिटर उचाइको मात्र रहेछ ।’
त्यसबेला यो हिमालको नाम पिक–एक्सपी थियो र तत्कालीन उचाइ ८८३९.८० मिटर थियो । ‘यसपछि पिक एक्सपी नै संसारको अग्लो हिमाल हो भन्ने थियो’ गौतमले भने, ‘पछि १८४३ मा जर्ज एभरेष्टले अवकाश पाए, तर उनका उत्तराधिकारीले हिमालय सर्भेको श्रेय उनलाई दिनुपर्छ भनेर ‘माउन्ट एभरेष्ट’ नाम राख्न लबिइङ गरे ।’
यसरी सन् १८५६ बाट एभरेष्ट लेख्न थालिए पनि १८६५ को डिसेम्बरमा रोयल जो–ग्राफिक सोसाइटीको बैठकबाट जर्ज एभरेष्टको थरबाट माउन्ट एभरेष्ट नाम राख्ने निर्णय पारित भयो ।
पछि २९ मे १९५३ मा सगरमाथाको शिखरमा नेपाली शेर्पा तेञ्जिङ नोर्गे र एड्मन्ड हिलारीले पहिलो पटक पाइला राखे । त्यसको तीन दशकसम्म सगरमाथाको आरोहण व्यावसायिक बनिसकेको थिएन । न त अहिले जस्तो रेकर्डका लागि नै चढिन्थ्यो ।
जानकारहरूका अनुसार, त्यतिञ्जेलसम्म नेपालमा हाइकिङको भने व्यावसायीकरण भइसकेको थियो । सन् १९८५ मा अमेरिकन धनाढ्य रिचार्ड डी बासले आरोहण गरेपछि भने सगरमाथाको पनि व्यावसायिकीकरण सुरु भएको मानिन्छ ।
‘प्रशस्त पैसा भएका उनी सात वटै महादेशका अग्ला हिमाल चढेर रेकर्ड बनाउँछु भनेर हिंडेका रहेछन्’ अध्येता गौतम भन्छन्, ‘उनी सगरमाथा चढ्न सकेनन्, त्यसपछि हरेक संयन्त्रदेखि सबै प्रयोग गरेर, खर्च गरेर आरोहण गर्न सफल भए ।’
उनी विश्वको पहिलो ‘सेभेन समिटर’ पनि बने । यसपछि विभिन्न रेकर्डका लागि हिमाल चढ्ने क्रम सुरु भयो भने सगरमाथा आरोहण व्यावसायिक बन्दै गयो ।
पर्वतारोहीका पथप्रदर्शक समेत रहेका लाक्पा राङ्डु शेर्पाका अनुसार, सगरमाथा पहिल्यैदेखि व्यावसायिक बन्दै गए पनि अत्यधिक बढेको भनेको सन् २०१० पछाडि नै हो । ‘सगरमाथालाई एड्भेन्चरबाट एकदमै लग्जरियस बनाइएको सन् २०१० पछि नै हो’ उनी थप्छन्, ‘पैसा भयो भने जसरी पनि पुगिन्छ भन्ने भयो, अनेक रेकर्ड बनाउने होडबाजी चल्यो ।’
सन् २०१० पछि सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढ्नुले पनि त्यसलाई पुष्टि गर्छ । ‘सन् २००५ सम्म सगरमाथा आरोहण गर्ने एकदम कम थिए भने २०१० देखि अर्को रेसियो आउँछ, त्यसयता एकदम बढ्छ’ अध्येता गौतम भन्छन्, ‘सगरमाथामा एकदमै धेरै सुविधा बढेको पनि त्यसपछि नै हो ।’
पर्यटन मन्त्रालयले प्रकाशन गरेको ‘नेपालमा पर्वतारोहण, तथ्य र तथ्यांक– २०२३’ मा उल्लेख भए अनुसार सन् २०१० देखि २०२२ सम्मको अवधिमा मात्र ४ हजार ९१९ जनाले सगरमाथा आरोहण गरेका छन् ।
चुकाउनुपरेको महँगो मूल्य
सगरमाथामा आरोहीको संख्या बढ्दै जाँदा सन् २०१९ मा सगरमाथामा ट्राफिक जाम नै भएको सार्वजनिक भयो । आरोहीको लस्करको तस्वीर र भिडियोले संसारको ध्यान खिच्यो ।
जति धेरै आरोही उति धेरै दोहन हुनाले विश्वकै सबैभन्दा अग्लो शिखर एक प्रकारले ‘डम्पिङ साइट’ मा बदलियो । यो अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बनिरहेको छ । हुँदाहुँदा अब सगरमाथा सफाइ समेत एउटा महत्वपूर्ण चुनौती हुन पुगेको छ ।
नेपाली सेनाको नेतृत्वमा सन् २०१९ देखि ‘सगरमाथा सरसफाइ अभियान’ चलिरहेको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, राष्ट्रिय निकुञ्जको संरक्षणमा सेना लामो समयदेखि खटिइरहेको भए पनि सन् २०१९ बाट भने औपचारिक रूपमा यसले हिमाल सरसफाइ अभियानको नेतृत्व गरिरहेको छ ।
अभियानमा सरिक सेनाका पर्वतारोही समेत रहेका सेनानी आदित्य कार्कीका अनुसार, नेपाली सेनाले सन् १९८८ बाटै सगरमाथामा उपस्थिति जनाउन थालेको हो । ‘कहिले पर्वतारोहणको सन्दर्भमा गएको छ भने कहिले सम्पर्क अधिकृतका रूपमा पनि गएको इतिहास छ’ उनी भन्छन्, ‘म आफैं सन् २०१३ मा सगरमाथा आरोहण गरेको थिएँ, इण्डियन आर्मीसँग त्यतिबेला संयुक्त आरोहण गर्दा पनि हामीले ४.६ टन फोहोर ल्याएका थियौं ।’
हिमालहरू राष्ट्रिय निकुञ्जभित्रै भएको र सेना निकुञ्जको सुरक्षामा पहिल्यै जोडिएकाले यसबारे सेनाको चासो भएको उनी बताउँछन् । ‘हिमाल आरोहणको जुनसुकै कार्यक्रम हुँदा सांकेतिक रूपमा फोहोर ल्याउने काम गरिरहेका थियौं’ उनी थप्छन्, ‘२०१९ मा हिमाल भनेको कुनै पर्वतारोहण शाखाको, कुनै मन्त्रालयको मात्र होइन, समग्र नेपालकै हो भन्ने सोचेर सेनाको नेतृत्वमा यो अभियान चलाइएको हो ।’
पछि वातावरण विभागमा पनि हिमाल सरसफाइका लागि भनेर बजेट छुट्टिने तर, जनशक्ति लगायतका कारणले काम नभएको भन्ने कुरा भएपछि विभागसँग पनि जोडिएर सबै निकायको अभियानका रूपमा अघि बढेको उनी बताउँछन् ।
तर, हिमालको सरसफाइ त्यति सहज छैन । ‘यो एकदमै खर्चालु र समय लिने काम हो’ आरोही आङबाबु शेर्पा भन्छन्, ‘हिउँभित्रको फोहोर निकाल्न तातोपानी नै खन्याएर पगाल्नुपर्छ, कि त दुई–तीन दिन घाम लाग्यो भने मात्र फोहोर देखिन्छ ।’
उनका अनुसार, टेन्ट टाँग्ने स्थानमुनि हिउँ र त्यसदेखि तल फोहोर भएकाले कतिपय अवस्थामा त्यो देखिन्न पनि । ‘टेन्ट उठाएपछि हिउँ पग्लिंदा फेरि फोहोर देखिइहाल्दोरहेछ, त्यसैले फोहोर कति छ भनेर यकिनका साथ भन्न पनि कठिन हुनेरहेछ’, शेर्पा भन्छन् ।
‘घाटाको व्यापार’
नेपाल स्काउटका प्रथम सगरमाथा आरोही अनिश लुइँटेल भने सगरमाथामा ट्वाइलेट ब्याग, प्रयोग भइसकेका टेन्ट, प्लास्टिक, अक्सिजन सिलिण्डर, मृत शरीर लगायत आफूले यत्रतत्र देखेको अनुभव सुनाउँछन् ।
सन् २०१६ मा नेपाल र सन् २०१८ मा चीनतर्फबाट आरोहण गरेका उनी भन्छन्, ‘चीनतिरबाट जाँदा सफा देखिन्थ्यो भने नेपालतिर हिउँमा पुरिएर छाडिएका प्लास्टिकका कपडा, क्यान लगायत कुराहरू देखिन्थ्यो ।’
यस्तोमा नेपालमा सन् १९८२ देखि २०२४ सम्ममा २२०८ देखि २७६० टनसम्म फोहोर थुप्रिएको पर्यटन मन्त्रालयको अनुमानित तथ्यांक छ । नेपाली सेनाको अगुवाइमा भएको सगरमाथा सरसफाइ अभियानलाई आधार बनाउँदा सन् २०१९ देखि २०२४ सम्ममा ९ वटा मृत शरीर सहित ११६.८६ टन फोहोर संकलन गरेर ल्याउँदा ४३ करोड ९७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।
यही अवधिमा रोयल्टी बापत भने नेपालले २८ करोड ८५ लाख ६२ हजार ६८० रुपैयाँ संकलन गरेको छ । अर्थात्, रोयल्टी बापत आउने रकम सगरमाथाको सरसफाइका लागि मात्रै पनि पर्याप्त छैन ।
अहिलेको विवरण अनुसार, १७६० देखि २४०० टनसम्म फोहोर उठ्न बाँकी छ । र, पछिल्लो समय सरसफाइमा भएको खर्चलाई आधार बनाउने हो भने सरसफाइका लागि मात्र कम्तीमा १७६० टन सरसफाइका लागि ६ अर्ब ६२ करोड ३४ लाख ५३ हजार ९६५ रुपैयाँ लाग्ने दखिन्छ भने अहिलेकै गतिमा काम गर्दा यो फोहोर संकलन गर्न ९० वर्ष लाग्न सक्ने देखिन्छ ।
हिमालमा ३०० देखि ४०० मृत शरीर अनुमान गरिएकोमा त्यसलाई फिर्ता ल्याउन ३० देखि ४० करोड रुपैयाँ खर्च लाग्छ । रोयल्टी र सरसफाइमा लाग्ने खर्चको हिसाबको मात्रा हेर्दा पनि मुलुकले सगरमाथालाई व्यापारीकरण गरेर सस्तोमा बिक्री गरिरहेको देखिने अध्येता खिमलाल गौतम बताउँछन् ।
‘हुनत प्रकृतिको कहिल्यै पनि हामीले मूल्यांकन गर्न सक्दैनौं, यो रोयल्टी लगायतका कुराहरू असाध्यै कम मूल्यमा बेचिरहेका छौं’ गौतम भन्छन्, ‘यस विषयमा पुनर्विचार हुनु जरूरी देख्छु ।’
सन् २०२१ देखि हिमालको फोहोर संकलनमा खटिंदै आएको अग्नि सेन्टर फर सस्टेन्एबिलिटीका अध्यक्ष सुशील खड्का पनि नेपालले हिमालले थेग्ने भन्दा बढी आरोहण खुल्ला गरेर हिमालमा अपूरणीय क्षति निम्त्याइसकेको बताउँछन् ।
‘हाम्रो आँखा अगाडि नै बागमती नदी र यससँग जोडिएको सभ्यता पुनर्स्थापना गर्न नसकिने गरी नष्ट भएर गयो’ अध्यक्ष खड्का भन्छन्, ‘यदि समयमै सरकारले बलियो निर्णय नगर्ने हो भने हाम्रा हिमालहरू पनि काला पहाड र फोहोरको थुप्रोमा परिणत हुँदैछन् । सन्ततिले धिक्कार्ने गरी हामीले हिमालमा क्षति पुर्याइरहेका छौं ।’
तर, नेपाल पर्वतारोहण सञ्चालक संघका अध्यक्ष डम्बर पराजुलीको भने यसमा फरक मत छ । ‘आरोहीबाट उठाउने विशुद्ध रोयल्टीको मात्रै हिसाब गरेर हिमाललाई घाटाको व्यापार भइरहेको छ भन्नु आंशिक सत्य हो’ उनी भन्छन्, ‘यसले कति रोजगारी सिर्जना भएको छ, अर्थतन्त्र कति चलायमान बनाएको छ भनेर पनि हेर्नुपर्छ ।’
आरोहण खुलेको ७० वर्षदेखि थुप्रिएको फोहोर एकैसाथ सफा गर्न सम्भव नहुने भन्दै उनी भन्छन्, ‘यसको लागि भएका नियम कडाइका साथ लागू गर्नुपर्छ, नियम कानुन नभएको वा अपुग छ भने बनाउनुपर्छ । बलियो अनुगमन हुनुपर्छ, आरोहीले के के लिएर गएका छन्, के के लिएर आए कडाइका साथ हेर्नुपर्छ । सरोकारवालाहरूमा सचेतना बढाउने काम गर्नुपर्छ ।’
वातावरण अभियन्ता सिलसिला आचार्य सर्वोच्च अदालतले समेत आरोहणलाई सीमित गर भनिसकेको अवस्थामा यसको कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताउँछिन् ।
‘सबै कुराको सीमा हुन्छ, व्यक्तिको सोख र रेकर्ड बनाउन असीमित रूपमा हिमाल आरोहण खुल्ला गरिराख्ने हो भने हिमाल मात्रै होइन, हाम्रो जलचक्र बिथोलिन सुरु भइसक्यो’ आचार्य भन्छिन्, ‘विस्तारै हिमनदी सुक्छन्, सिंचाइ र खानेपानी प्रभावित हुन्छन् । त्यसैले हिमालको अस्तित्व नै दाउमा लगाउने गरी बेरोकतोक आरोहण खुल्ला गर्नुहुँदैन ।’
आचार्य ‘डलरमा आम्दानी’ गर्न दिगो पर्यटनका अरू विकल्प रहेको बताउँछिन् । ‘सफा गर्न सजिलो हुने ८००० मिटर भन्दा कम उचाइका हिमाल आरोहणमा पर्यटक आकर्षित गर्न सकिन्छ’ उनी भन्छिन्, ‘हिमालमा भएको क्षति जति खर्च गरे पनि पुनर्जीवीकरण र पुनर्स्थापना गर्न नसकिने अवस्थामा पुग्नुअघि नै सरकारले एउटा निर्णय गरिहाल्नुपर्छ ।’