हेटौंडा । नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले हेटौंडामा ऐतिहासिक एवम् सांस्कृतिक तुछिमला भैरव प्याखँ प्रदर्शन गरिने भएको छ । नेप इभेन्ट्स इन्टरटेन्मेन्टको आयोजनामा जेठ १५ गते नेवार समुदायको ऐतिहासिक एवम् सांस्कृतिक तुछिमला भैरव प्याखँ प्रदर्शन गरिने भएको हो ।
तुछिमला भैरव प्याखँ (भैरव नाच) नेवार समुदायको एक ऐतिहासिक, सांस्कृतिक एवम् तान्त्रिक शक्ति मानिने विशिष्ट नृत्य हो । कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले यस नाच प्रदर्शन गरिँदै आइएको छ ।
तुछिमला भैरव प्याखँ (नेवार भाषामा प्याखँ भनेको नाच हो) काठमाडौं उपत्यका र आसपासका नेवार समुदायमा प्रदर्शित हुने एक ऐतिहासिक एवम् तान्त्रिक सांस्कृतिक भैरव नाच हो । भगवान् भैरवको स्वरुप, तिनको पराक्रम र लीलालाई जीवन्त पार्न यो मुखुण्डो लगाएर नाचिने परम्परागत नृत्य हो । यसमा भैरवको उग्र र शक्तिशाली रुपलाई कलात्मकरुपमा प्रस्तुत गरिन्छ । नाचमा सहभागी नर्तकहरुले भैरवको विशेष मुखुण्डो र परम्परागत पोशाक लगाएर ताल र विशेष लयमा नृत्य गर्छन् ।
यस्ता प्याखँ (नाच) हरु नेवार संस्कृतिका अभिन्न अंग हुन् र यसले समुदायमा सुख, शान्ति र सहिष्णुता ल्याउने जनविश्वास छ । उक्त नाच सदियौं पुरानो मौलिक कला र संस्कृतिको प्रतीक हो, जसलाई पुस्तान्तरण गरेर जीवन्त राखिएको छ । यस नाच नेवार समुदायका विभिन्न जात्रा, पर्व र विशेष धार्मिक उत्सवहरुका अवसरमा प्रदर्शन गरिन्छ । यसको निरन्तरता र प्रवद्र्धनका लागि नेपालका विभिन्न सहरहरुमा बेलाबखत विशेष प्रदर्शनसमेत आयोजना हुने गर्दछन् ।
‘हेरिटेजको प्रतिध्वनि’ नारासाथ आयोजना गरिने कार्यक्रममा नेवार सम्प्रदायका विभिन्न कला तथा नृत्यहरु प्रदर्शन हुनेछ । कार्यक्रम संयोजक निलम वैद्यका अनुसार भक्तपुरको तुलाछें टोलबाट करिब ६ सय वर्षअघि (मल्लकाल) मा सुरु भएको भैरव कालीलगायत देवताहरुको नाच एवम् सांस्कृतिक तुछिमला भैरव प्याखँ हेटौंडामा प्रदर्शन गरिने भएको हो ।
उक्त नाचको आफ्नै विशिष्ट पहिचानसहित नेवार समुदायको सांस्कृतिक तथा धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकको रुपमा रहेको उनले बताइन् । देवीदेवताप्रति श्रद्धा व्यक्त गर्न र समुदायमा शान्ति कायम गर्न उक्त नाच सदियौंदेखि नाचिँदै आएको उनले बताइन् । युवापुस्तालाई सांस्कृतिक जगेर्नामा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
हेटौंडा—१ स्थित हिमालयन दरबार ब्यांक्वेटमा दिउँसो ४ बजे सुरु हुने कार्यक्रममा विभिन्न देवीदेवताका स्वरुपहरुका रोचक नृत्यहरु प्रदर्शन हुनेछ । कार्यक्रममा भैरव, महाकाली, बाराही, कुमारी र महालक्ष्मीलगायत देवीदेवताहरुको नृत्य प्रदर्शनका क्रममा खिचा प्याखँ, कवाँचा प्याखँ गरिने कार्यक्रम संयोजक वैद्यले बताइन् । उनका अनुसार आधुनिकताको बढ्दो प्रभावसँगै हराउँदै गएका मौलिक संस्कृतिलाई नयाँपुस्तासम्म पु¥याउन र स्थानीय पर्यटन प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । ‘यो हाम्रो पहिलो प्रयास हो । यदि यसमा सबै पक्षको चासो बढे हरेक वर्ष कार्यक्रम गर्न सकिनेछ,’ उनले बताइन् ।
भक्तपुरबाहिर ऐतिहासिक नाच प्रदर्शन हुनुले सांस्कृतिक आदानप्रदानमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अवलोकनका लागि प्रतिव्यक्ति टिकट दर एकहजार तोकिएको छ । टिकट रकमले परम्परागत नेवारी भोज ‘सुकुल भोज’ आयोजना गरिनेछ । नेवार समुदाय चाडपर्व, जात्रा जस्ता मौलिक परम्पराले जति सम्पन्न छ, उति नै खानेकुरा र खाने शैलीले पनि । नेवार समुदायमा हरेक महिनाजसो नै कुुनै न कुनै भोज भइरहेको हुन्छ । परिवारका सदस्य, आफन्त र नातेदारहरुको जमघट गर्न भोजको मुख्य उद्धेश्य हुन्छ ।
उनीहरुको भोज खाने शैली पनि आफ्नै तरिकाको हुन्छ । परालबाट बनेको सुकुलमा लहरै बसेर मीठामीठा परिकार खानुको बेग्लै मज्जा हुन्छ । नेपाल भाषामा ‘सुकु भ्वय’ भनिने सुकुल भोज हिजोआज हराउँदै गएको छ । सुकुलको ठाउँ हाल कुर्सी र टेबुलले लिन थालेका छन् । व्यस्तताका कारण हिजोआज सुकुलमा बस्ने चलन हराउँदै गएको छ । हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यस भोज तुलनात्मकरुपले खान लामो समय लाग्छ । किनकि, यसमा आफूले मन परेको लियो, खायो हुने होइन । लहरै खानाको परिकार ल्याइन्छ र नटुंगेसम्म उठ्न पाइँदैन ।
कार्यक्रममा विभिन्न विधामा २५ जना बढीको नृत्य रहनेछ भने बाद्यबादनसहित करिब १ सय जनाको टोलीले नृत्य प्रस्तुति दिनेछन् ।


















