मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका प्रचुर पर्यटनको सम्भावना बोकेको पालिका हो । यहाँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश देशकै सबैभन्दा ठूलो गढीको रुपमा मकवानपुरगढी दरबारदेखि मकवानपुरगढी गाउँपालिकाको आर्थिक विकासमा टेवा पुर्‍याई समृद्ध पालिका निर्माण गर्न योगदान दिने अन्य विभिन्न ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित मकवानपुरगढी दरबार क्षेत्रमा दैनिक करिब हजार जना पर्यटक अवलोकनका लागि आउँने गरेका छन् । दबारक्षेत्रमा पुग्न सजिलो पक्की सडकका कारण पर्यटकलाई सहजता मिलेको छ ।हेटौँडा बजारबाट १७ किलोमिटर उत्तर पूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौँबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्ने हुन्छ । सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रुपमा रहेको यो गढी दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा लोकप्रिय बनेको हो । यहाँ रमणीय ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तुप लगायतका धार्मिक स्थलहरु रहेका छन् । अत्यन्तै मनमोहक वातावरण, यातायातको सहजता, शान्त पारिवारिक वातावरणको पिकनिक क्षेत्र भएकाले पर्यटकको रोजाईमा गढी दरबारक्षेत्र पर्ने गरेको छ ।

एघारौं शताब्दीमा नेपालका पहिलो सेनवंशी राजा तुला सेनले निर्माण गरेको तथा वि.सं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ्ग सेनले स्थापना गरेर २०९ वर्षसम्म राजधानी बनाएको गढी दरबार क्षेत्रमा पर्यटकहरुको निकै चहलपहल देख्न सकिन्छ । यहाँ मकवानपुरका अलावा ललितपुर, काठमाडौँ, सिन्धुली, चितवन तथा मधेश प्रदेशका विभिन्न जिल्लाका साथै विदेशी पर्यटक समेत आउने गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रीन विशेषतः इतिहासमा रुचि भएकाहरु अवलोकनका लागि दरबार क्षेत्रमा आउँने गरेको बताउँछन् । उनका अनुसार आन्तरिक पर्यटकको चहलपहलले मकवानपुरगढी दरबारक्षेत्रमा व्यापार समेत फस्टाउँदै गएको छ । मानिसहरु ऐतिहासिक महत्व बोकेको गढी दरबार हेर्न र पिकनिकमा रमाउनका लागि आउँने गरेको उनको भनाई छ ।
मकवानपुरका खोजकर्ता केदारप्रसाद न्यौपानेका अनुसार ‘मुकुन्द सेनले राजकाज त्यागी सन्यास धारण गर्ने क्रममा विशाल सेन राज्यलाई आफ्ना चार भाइ छोराहरु र दुई भाइ नातिहरुलाई बाँडी दिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । वि.सं १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुर गढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरका राजा भए । लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्वन्धन सेन गरी सात पुस्ताले २०९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । वि.सं १८१९ भदौ ९ गते गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजसँग पराजित भएपछि मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन भागेर सिन्धुली गढी हुँदै बङ्गाल पुगेर त्यहाँका बादशाह मीर कासिमसँग गुहार मागेको र बादशाहले गोर्खालीविरुद्ध लड्न युरोपेली मूलका गुरगिन खाँको नेतृत्वमा अत्याधुनिक हातहतियारसहित तीन हजारभन्दा बढी सेना पठाएको इतिहासकारहरु बताउँछन् । सो फौज माघे सङ्क्रान्तिकै दिन मकवानपुर फाँटमा प्रवेश गरी लुटपाट मच्चाएको र नौ दिनसम्म कब्जा जमाएर बसेको बताइन्छ । गोर्खाली सेनाले भने भित्रभित्रै युद्धको तयारी गरेर माघ ९ गते राती उनीहरु बसेको शिविरलाई चारतिरबाट घेरा हाली आक्रमण गरेर युद्ध गरेको पढ्न सकिन्छ ।’ भोलिपल्ट अर्थात् माघ १० गतेसम्ममा एक हजार ७०० भन्दा बढी बङ्गाली सैनिकहरु मारिएका थिए । बङ्गाली सेनाको प्रतिकार गर्न भन्दै एक हजार सय सेना लिएर आउँदै गरेका पृथ्वी नारायण शाह आउनुअघि नै ८०० जनाको सङ्ख्यामा रहेका गोर्खाली सेनाले आफूभन्दा झण्डै चार गुणा ठूलो फौजलाई पराजित गरी ठूलो परिमाणमा हातहतियार जफत गरेको थियो । वि.सं. १८१९ माघ १० गते विहान गुरगिन खाँको नेतृत्वमा रहेको सेनालाई परास्त गरी विजय प्राप्त गरेका थिए । यसैको सम्झना तथा सम्मानमा हरेक वर्ष माघ १० मा मकवानपुरगढी विजयोत्सव मनाउँने गरिएको छ ।

यस्तो महत्वको ऐतिहासिक स्थललाई मकवानपुरगढी गाउँपालिकाले विशेष प्राथमिकता दिएर लगानी गर्दै आएको पालिका अध्यक्ष दोर्जे स्याङतान लामा बताउँछन् । हाल दरबार परिसरमा प्रवेशका लागि निर्माण गरिएका प्रवेशद्वार, सिढिँ, फुट बल्क, सूचना गोल घर, सेतो एक दन्ते हात्ति, पिकनिक स्थलजस्ता संरचनाले आकर्षण मात्र थपेको छैन पालिका विकासका लागि आम्दानी पनि बढाइरहेको छ ।
यस्तै, मकवानपुरगढी २ स्थित ढुङ्गेगढी अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो । समुद्री सतहबाट १२९९ मि. को उचाइमा र २७ डिग्री २५ मि. १२ से. अक्षांश र ८५ डिग्री १० मि. ७ से. देशान्तरमा यो रहेको छ । मानिसहरुका बस्ती ढुङ्गाको माथि भएकाले यहाँको नाम ढुङ्गेगढी रहन गएको विश्वास गरिन्छ । यहाँ कालिका माई र शिव मन्दिर निर्माण भएको छ । यो समुन्द्र सतहबाट करिब १३०० फुट उचाईमा अवस्थित छ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले मानिसलाई निकै मोहित बनाउँछ । मौसम सफा भएको अवस्थामा भारतीय भूमि विहारको समेत यस ठाउँबाट अवलोकन गर्न सकिन्छ । बाँस र गुराँस फुल्ने समयमा यस क्षेत्र वरपरको वातावरण रङ्गीचङ्गी देख्न सकिन्छ । ढुङ्गेगढी सेनको राज्य कालमा बनेको कथन छ ।

कृषि पर्यटनको महत्व र सम्भावना बोकेको अर्को स्थल हो मकवानपुरगढी १ स्थित रानीबास । उच्च समथर भुभाग र समुद्री सतहबाट ९५५ मि. को उचाइमा अवस्थित रानीबास १७,८०५ ब. मी. क्षेत्रफलमा फैलिएको छ । यस स्थानमा प्रायः रुखहरुमा आकर्षक ऐजेरु र सुनगाभाका फूलहरु फुलेका देखिन्छन् । रानीसेरा क्षेत्र विकासको लागि रानीबास कृषि पर्यटन पार्कका रुपमा यो स्थललाई विकास गरी अघि बढाउने कार्यमा पालिका लागिपरेको छ । सेन वंशीय राज्यकालमा मकवानपुरगढी दरबारबाट तराई यात्रा गर्ने क्रममा यस ठाउँमा रानी आएर बास बस्ने भएकाले यस ठाउँको नाम रानीबास रहन गएको विश्वास गरिन्छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित पशुमैत्री पार्क पर्यटकीय क्षेत्रका रुपमा छ । हेटौँडाबाट ७ कि. मि. उत्तर–पश्चिममा पर्ने यो क्षेत्र सामरी खोलाको किनारमा झन्डै ६२८१३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको हावापानी बर्ष भरी उष्ण रहने भएकोले पशुपालनको निम्ति निकै उपयुक्त हुने बताइन्छ । यस कारण पनि यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन नै रहेको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे यस पार्कलाई कृषि पेशा गर्नेहरुको लागि सिक्ने थलोका रुपमा विकास गरिने बताउँछन् ।
मकवानपुरगढी ४ स्थित धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको मनकामना मन्दिर पालिकाको अर्को महत्वपूर्ण सम्पदा हो । यो मन्दिर हेटौँडा बजारबाट पूर्वको माथिल्लो भागमा अन्दाजी ३ कि.मि. दुरीमा पर्दछ । पक्की सडक व्यवस्थाले सजिलै जान सक्ने कारण दिनहुँजसो मानिसहरुको चहलपहल बढ्दै गएको पाइन्छ । विहान-साँझ आफ्नो स्वास्थ्यका लागि हिड्डुल गर्नेहरु पनि यहाँको रमणीय दृश्यावलोकन गर्दै टक्क अडिने गरेका छन् । मनकामना मन्दिरलाई गोरखा मनकामनाको मन्दिर जस्तै कलात्मक मन्दिरका रुपमा अगाडि बढाइएको छ । मन्दिरको उत्तर बायाँ पिपल, दायाँ वर वृक्षारोपण गरिएको छ । मन्दिरको दुईतलामध्ये तल्लो तलाको उत्तर र पूर्व प्रवेशद्वार छ । माथिल्लो तलामा आँखी झ्याल राखिएको छ । प्रतिक्षालय,सत्तल पनि निमार्ण भएको छ । यस ठाउँबाट हेटौँडा बजारक्षेत्रलाई निकै सुन्दर रुपमा अवलोकन गर्न सकिन्छ ।

मकवानपुरगढीलाई पर्यटकीय क्षेत्रमार्फत उन्नतीको बाटोमा हिडाउन योगदान गर्नसक्ने अर्को स्थल हो, सहिद रूद्रबहादुर पाख्रिन स्मृति बाटिका । गाउँपालिकाको वडा नम्बर ४ कालीखोलाको शान्तिचोकमा अवस्थित स्मृति बाटिका हेटौँडा बजारबाट पूर्व पट्टी अग्लो डाँडामा ५ कि.मि. दूरीमा छ । तत्कालीन विद्रोही पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले थालेको सशस्त्र जनयुद्धमा होमिएका रुद्रबहादुर पाख्रीनको स्मृतिमा यो पार्क निर्माण गरिएको हो । स्मृति बाटिकामा करिब ४० रोपनी क्षेत्रफल र रानी सामुदायिक वनको जमिनमा पिकनिक स्थल, प्रतिक्षालय, शौचालय, सभा कक्षा र स्नान घर समेत निर्माण गरिएको छ । यहाँबाट हेटौँडा बजार, हटिया, हर्नामाडी र औद्योगिक क्षेत्र अवलोकन गर्न सकिन्छ ।

जनयुद्धमा भूमिगत भएका रुद्र २०५४ सालाबाट पूर्ण रुपमा भूमिगत भएका थिए । उनकै नेतृत्वमा मकवानपुर जिल्लामा माओवादीको जनसरकार घोषणा गर्ने सिलसिलामा २०५९ पुस २८ गते फापरबारी जाने क्रममा बाटोमा शाही सेना र प्रहरीको टोलीले छतिवनमा नियन्त्रणमा लिइ रुद्रको हत्या गरे । जनताको मुक्तिका लागि लड्दालड्दै सहिद हुन पुगेका रुद्र अर्थात् क. ‘रमेश’ को स्मृतिमा उनको सम्मान गर्दै मकवानपुरगढी गाउँपालिकाको कार्यालयले ‘सहिद रुद्रबहादुर पाख्रीन स्मृति बाटिका’ निर्माण गरेको हो ।
मकवानपुरगढी ८, बुढीचौरमा रहेको ऋषेश्वर गुफा पर्यटकीय रोजाईमा पर्न थालेको अर्को क्षेत्र हो । यो प्राचिन गुफा रहेको यसका जानकारहरु बताउँछन् । भक्तजनहरु पुजाआजाका लागि त्यहाँ पुगी ऋषेश्वर महादेव–माणिको पूजाआजा गर्ने गर्दछन् । यहा विभिन्न देवी देवताका मूर्तिको आकारप्रकारहरु स्वयम् निर्माण भएको देखिन्छ । विशेष गरी फागु पूर्णिमाको दिन यहाँ मेला लाग्ने गरेको छ । यहाँको अवलोकन गर्दा कास्की जिल्ला, पोखरा स्थित पाताले छाँगोको अनुभव मिल्छ ।

ऋषेश्वर गुफालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि तत्कालीन पालिका अध्यक्ष विदुर हुमागाईँले चासो देखाउँदै गुफा प्रवेश गर्ने सडकको स्तरोन्नती गरेका थिए । यहाँ कोशेली घरको निर्माण, पेदल यात्राको लागि सिढिँसँगै रेलिङको निर्माण गरिएको छ । गुफासँगै रहेको झरना अवलोकनका लागि पक्की पुल बनाइएको खण्डमा यस क्षेत्रमा पर्यटकको अझै सङ्ख्या बढ्न गई पालिकाकै विकासमा टेवा पुग्न सक्छ ।
गाउँपालिकाको वडा नम्बर ८ बुढीचौरमै अवस्थित ऐतिहासिक खुडेधार डाँडा पर्यटकीय सम्भावनाले भरिएको अर्को ऐतिहासिक क्षेत्र हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयमा मकवानपुरमाथि पनि आफ्नो कब्जा जमाउने सोच राखेर त्यसबखत मकवानपुर तर्फ जान र आउनको लागि प्रयोग गरिने मार्गको रुपना खुडेधार पदमार्गलाई लिईने गरिएको इतिहासका जानकारहरु बताउँछन् । यस मार्गलाई पृथ्वीनारायण शाहको ससुराली आवतजावत गर्ने मार्गको रुपमा पनि चिनिन्छ । करिब एक घण्टा समय लाग्ने पैदल मार्ग, मनमोहक प्राकृतिक दृश्यावलोकन गर्दै उकालोतर्फ साना–साना खुड्किलो चढी डाँडामा पुग्न सकिन्छ । यो क्षेत्र हेटौँडाबाट २५ किमि टाढा र कान्तिलोकपथदेखि करिब १२ किमि टाढा रहेको छ । यही खुडेधार पदमार्ग हुँदै शाहाकालीन राजाहरु घोडामा सवार गर्ने गरेको भनाई छ ।

मकवानपुरगढी ८ बुढीचौर, छत्रेडाँडास्थित पाथिभरा देवी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ । पाथीभरा दिव्य धामका रुपमा छत्रेडाँडा क्षेत्रलाई ट्रेकिङ मार्ग बनाउँदै पर्यटकलाई आकर्षण गराउन सकेमा प्रगति हुने प्रबल सम्भावना छ । ताप्लेजुङस्थित पाथिभारा माताको मन्दिरमा पुग्न असहजता हुने अवस्थामा यहाँ दर्शन गर्दा पनि मनोकामना पुरा हुने विश्वास गरिन्छ । समुन्द्री सतहबाट २१४१ मिटर उचाईमा अवस्थित यो क्षेत्रमा लालीगुँरासका फूलहरु फुलेको, चिसो मौसम, सुन्दर वनजङ्गल अवलोकन गर्दै पुग्न सकिन्छ । यहाँ पुग्न सहजता होस् भनेर मकवानपुरगढी ८ नम्बर वडा कार्यालयको सहयोगमा हावा भञ्ज्याङदेखि मन्दिरसम्म १ मिटर फराकिलो बाटो उकालोमा सिँढी सहित निर्माण गरिएको छ । मकवानपुर तथा बाहिरी जिल्लाबाट समेत यस मन्दिरमा पुजाआजा गर्न तथा घुमघामका लागि मानिसहरु आउने गर्दा चहलपहल बढ्न थालेको मन्दिर व्यवस्थापन गरिरहेका दीपकसिंह रुम्बा बताउँछन् ।

यस्तै, मकवानपुरगढी वडा नम्बर ७ सुकौरामा रहेको पल उग्रेन देछेन छोईलिङ गुम्बालाई धार्मिक पर्यकीय रुपमा विकास गरी अगाडि बढाइएको छ । विशेष गरी बौद्ध धर्मावलम्बीलाई लक्षित गरी यो गुम्बा निर्माण गरिएको हो । मुख्य बाटोबाट पन्ध्र मिनेट पैदल हिडाईपछि पुगिने गुम्बा वि.सं २०७४ सालमा लामा गुरुद्वारा सिलान्यास गरी निर्माण गरिएको थियो ।

मकवानपुरगढी गाउँपालिकाले आव २०८१/०८२ को आफ्नो नीति तथा कार्यक्रममा पर्यटनक्षेत्रलाई प्राथमिकतामा समेटेको छ । ऐतिहासिक मकवानपुरगढी दरबार, मनकामना मन्दिर, सहिद रुद्र पाख्रिन स्मृति पार्क, पशुमैत्री पार्क, जलेश्वर धाम, बिजय पार्क, ढङ्गेगढी, रानीबास एग्रो टुरिजम पार्क, ऋषेश्वर गुफा, ऐतिहासिक हेलिग्राफ, बि.पि. पर्यटन पार्क, धनडाँडा मातातिर्थ मन्दिर तथा अदालत डाँडा लगायतका उच्च पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास गर्ने नीति तथा कार्यक्रम अनुसार काम भइरहेको पालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन नेपालीले जानकारी दिइन् ।

गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेका अनुसार पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत विभिन्न पर्यटकीय क्षेत्रको विकासका लागि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामरी पुलदेखि डुम्रेकुनासम्मको सडकलाई व्यवस्थित गरी सडकको दुवै छेउमा वृक्षरोपणमार्फत हरित सडक निर्माणमा पालिकाले काम गरेको उनले बताए ।

‘मकवानपुरगढी गाउँपालिकाको पहिचान, एकीकृत पर्यटकीय अभियान’ भन्ने नारालाई सार्थक बनाउन पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारको कार्यलाई पनि पालिकाले निरन्तरता दिँदै आएको छ । पालिकाले पर्यटकीय क्षेत्र निर्माण गर्दा सकेसम्म ठूला मेसिनरी औजार प्रयोग नगरी मानव श्रमको उपयोग गरी त्यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, भौगोलिक मौलिकतालाई कायम गरी, सांस्कृतिक र ऐतिहासिकतालाई समेत यथावत राखी निर्माण गर्ने कामलाई प्रोत्साहन गर्ने आफ्नो नीति बनाएको छ । यस्तै, महत्वपूर्ण पर्यटकीय क्षेत्रका आसपास होमस्टे, गेस्ट हाउस तथा ठूला होटलहरु सञ्चालन गर्न लगानीकर्ताहरुको खोजी गर्ने, कृषि हाट पर्यटन कार्यक्रम अन्र्तगत मनकामना मन्दिर आन्तरिक पर्यापर्यटन कार्यका लागि मनकामना भञ्ज्याङमा कृषि हाट व्यवस्थापन गरिने, जलेश्वर पार्क एव सहिद वासुदेव पार्क व्यवस्थित गर्न प्रदेश तथा संघ सरकारमा पहल गर्ने लगायत कार्यक्रमलाई अगाडि बढाउने गाउँपालिकाको कार्यक्रम रहेको छ ।

मकवानपुरगढी गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिममा हेटौँडा उपमहानगरपालिका,भीमफेदी गाउँपालिका, उत्तरमा भीमफेदी गाउँपालिका, दक्षिणमा हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६.५२ प्रतिशत भूभाग ओगटेको यस क्षेत्र चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्ज्याङ गाविस मिलेर बनेको यो गाउँपालिका १४८. ७३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । समुन्द्री सतहबाट करिब १३०४ मिटरसम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्डदेखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री २ मिनेट ३७ सेकेण्डदेखि ८५ डिग्री १३ मिनेट ८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । वि.सं.२०७३ साल फागुन २७ गते स्थानीय तहको नाम कायम गर्दा यस क्षेत्रलाई मकवानपुरगढी गाउँपालिका नामकरण भएको हो ।