
चिसोयाममा बिहानको हावा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुको भनाई छ । यसैले यो समयमा बिहान सबेरै वाकमा निस्कन नहुने विज्ञहरूले सुझाव दिएका छन्।
चिसोमा हावा जमिनमै बस्छ। यसले प्रदूषण जमिनको सतहमा नै सीमित बनाउँछ। घाम नलागेसम्म त्यो हावा विषालु हुन्छ।
गर्मीको तुलनामा चिसोमा प्रदूषण धेरै हुन्छ। धूलो, धुँवा, कार्बनकण सबै जमिनमै थिचिन्छ। यस्तो हावा सास फेर्न घातक हुन्छ।
वातावरणविद् भूषण तुलाधारका अनुसार, काठमाडौँजस्ता उपत्यकामा प्रदूषण झन बढी हुन्छ। चिसोयाममा हावा निस्कन सक्दैन। जसले प्रदूषणको मात्रा बढाउँछ।
मानिसले चिसोमा दाउरा, कोइला, गुइँडा जलाउँछन् । फोहोर पनि बालिन्छ। गाउँघरमा अझै परम्परागत इन्धनको प्रयोग हुन्छ। यो सबै प्रदूषण बढाउने कारण हुन् ।
आईएनसीका अनुसार नेपालमा अझै ५१ प्रतिशत दाउरा र ३ प्रतिशत गुइँडा प्रयोग गर्छन्। यसबाट महिला र बालबालिका बढी प्रभावित हुन्छन्।
शहरमा गाडीबाट निस्कने धुवाँ पनि समस्याको जरो हो। चिसोमा इन्धनको दहन राम्रोसँग हुँदैन। यसले हानिकारक ग्यास बढाउँछ।
वातावरण अभियन्ता वर्षा पराजुली भन्छिन्, बिहान बढी तुवाँलो हुन्छ। त्यसले प्रदूषणका कणहरू जमिनमै राख्छ। वातावरण झनै बिग्रिन्छ।
जलवायुविद् मञ्जित ढकालका अनुसार, गाडीको धुँवाले कार्बन उत्सर्जन बढाउँछ। त्यसलाई रोक्न सके जलवायु परिवर्तन नियन्त्रणमा सहयोग पुग्छ।
मुटुरोग विशेषज्ञ डा.रञ्जित शर्मा भन्छन्, बिहानको चिसो र प्रदूषण मुटुरोगीका लागि खतरनाक हुन्छ। रक्तप्रवाहमा समस्या आउन सक्छ। मुटु र मस्तिष्कघातको जोखिम बढ्छ।
उनको सल्लाह छ, घाम लागेको बेला मात्रै बाहिर निस्कनु उचित हुन्छ। माक्स र तातो लुगा अनिवार्य हुनुपर्छ।
जनस्वास्थ्यविद् डा. समिर अधिकारीले चेतावनी दिन्छन्प्र-दूषणले दम, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, हृदयघातसम्म गराउँछ। सतर्कता अपनाउनु अनिवार्य छ।