हेटौंडा/मकवानपुरमा शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्नमाध्यमिक तहको लिखित परीक्षामा सहभागी २० परीक्षार्थीका २० थान मोबाइल फोन जफत गरिएको छ ।
परीक्षा हलमा मोबाइल लैजान निषेध गरिएको पूर्वसूचनाको अवज्ञा गर्दै मोबाइल बोकेका परीक्षार्थीबाट जिल्ला परीक्षा समन्वय समिति मकवानपुरले मोबाइल जफत गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । शनिबार जिल्लाका २७ परीक्षाकेन्द्रमा सञ्चालित परीक्षामा ६ हजार ८ सय ३६ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुरले जनाएको छ ।
















