हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकाका वडामा कार्यरत् स्वास्थ्य इञ्चार्जहरुलाई पाम्सभी–२ तालिम प्रदान गरिएको छ । दुई दिन सञ्चालित तालिम शुक्रबार समापन भएको हो ।
पालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा तालिम समापन भएको हो । तालिमको समापन गर्दै अध्यक्ष मुक्तानले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन पाम्स प्रणालीको महत्वपूर्ण भूमिका रहने बताए । औषधि तथा स्वास्थ्य सामग्री खरिद, प्राप्ति, मौज्दात र वितरणलाई व्यवस्थितरुपमा अभिलेखीकरण गर्न उक्त प्रणाली उपयोगी हुने गरेको उनले बताए । तालिममा सहभागी स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरुले सिकेका ज्ञान र सिपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रविधि प्रयोग केवल औपचारिकतामा सीमित नराखी दैनिक कार्यसम्पादनको अभिन्न हिस्सा बनाउन अध्यक्ष मुक्तानले अनुरोध गरेका छन् ।
उनले गाउ“पालिकाअन्तर्गत् सबै स्वास्थ्य संस्थाले पाम्सभी–२ प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनुका साथै औषधि तथा स्वास्थ्य सामग्री प्राप्ति, मौज्दात र वितरणको विवरण नियमितरुपमा अद्यावधिक गर्नुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले औषधि अभाव हुन नदिन समयमै माग गरी औषधिको म्याद, गुणस्तर र भण्डारणमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
पाम्सभी–२ नेपाल सरकारको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली हो । स्वास्थ्य क्षेत्रमा यसको प्रयोग औषधि तथा औषधिजन्य सामग्री व्यवस्थापनका लागि प्रयोग गरिने स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । तालिमलाई जनस्वास्थ्य कार्यालय मकवानपुर जनस्वास्थ्य अधिकृत प्रिन्सु दाहालले सहजीकरण गरेकी थिइन् । तालिममा पालिकाका १० वटै वडाका स्वास्थ्य इञ्चार्जहरुको सहभागिता थियो ।














