हेटौंडा/ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुरले मंसिर २० गते हेटौंडामा ख्रीष्टमस महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुनेछ । शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले विभिन्न चर्च तथा मण्डलीमा आबद्ध करिब ४ हजार ५०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको जनाएको छ । महासंघका जिल्ला अध्यक्ष नवराज घलानका अनुसार हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आयोजना हुन लागेको महोत्सवमा ख्रीष्टियन समुदायका धार्मिक भजन–कीर्तन, गीत–संगीत, सांस्कृतिक नृत्य, प्रवचन तथा आराधनालगायतका कार्यक्रम प्रस्तुत गरिनेछन् ।

महोत्सव सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाबाट २ लाख रुपैयाँ बजेट सहयोग प्राप्त भएको अध्यक्ष घलानले जानकारी दिए । त्यस्तै, विभिन्न चर्च तथा मण्डलीबाट समेत आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।आयोजकका अनुसार महोत्सव सम्पन्न गर्न करिब ६ लाख ५० हजारदेखि ७ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष मोम लामा, केन्द्रीय सदस्य सुनिता राई, सल्लाहकार रामकृष्ण पन्त, जिल्ला उपाध्यक्ष नवीन आले मगर र जिल्ला कोषाध्यक्ष वीरबल पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।