हेटौँडा/ बाढी प्रभावित विद्यार्थीहरूको शैक्षिक निरन्तरता र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘विद्यार्थीबाट विद्यार्थीसम्म’ अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट कापी, किताब, कलम, पेन्सिललगायत शैक्षिक सामग्री संकलन गरी बाढी प्रभावित विद्यालयका विद्यार्थीलाई वितरण गरिनेछ।

‘From Students, To Students’ मूल नारासहित सुरु गरिएको अभियानले विद्यार्थीबीच सहयोग, सहकार्य र मानवीय एकताको भावना विकास गर्ने लक्ष्य राखेको छ। संकलित सामग्री नेविसंघका क्याम्पस इकाइ तथा केन्द्रीय कार्यालयमार्फत व्यवस्थापन गरिने जनाइएको छ।

बाढीका कारण शैक्षिक सामग्री गुमाएका विद्यार्थीलाई पुनः अध्ययनमा फर्किन सहज बनाउने विश्वाससहित अभियान सञ्चालन गरिएको हो। नेविसंघले विद्यार्थी, क्याम्पस इकाइ तथा शुभेच्छुकलाई अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।

अभियानले विपद्का समयमा विद्यार्थी आफैँ पनि सहयोग र सामाजिक उत्तरदायित्वका संवाहक बन्न सक्छन् भन्ने सन्देश दिने विद्यार्थी नेता सागर घिमिरेले जानकारी दिए।