हेटौंडा/थाहा नगरपालिका वडा नम्बर–४ मा रहेको ऋषेश्वर÷छ्युमिग झ्याङ्छुपसम्बन्धि आधारभुत जानकारी क्युआरबाट पाइने भएको छ । ऋषेश्वर÷छ्युमिग झ्याङ्छुप क्षेत्र विकास समितिले सार्वजनिक गरेको क्युआरमार्फत् नेपाली, अंग्रेजी र चाइनिज भाषामा ऋषेश्वरको विषयमा जानकारी लिन पाइन्छ ।

गुगलसाइटमा अपलोड भएको जानकारीमा ऋषेश्वरको परिचय धार्मिक मान्यता, विशेषता, मेला तथा जात्रासम्बन्धि विवरण, दर्शन मार्ग, महत्व, वातावरणीय अवस्थासमेत उल्लेख गरिएको छ । उक्त धार्मिकस्थलसम्म पुग्ने मार्ग, क्षेत्र विकास समितिको परिकल्पना, तथा भ्रमणसम्बन्धि जानकारीहरु राखिएको छ । यी सबै विवरण तीन वटै भाषामा पढ्न पाइन्छ । धार्मिकस्थलसम्बन्धि जानकारी सार्वजनिक गर्दा धार्मिक क्षेत्रको विषयमा प्रचारप्रसारमा सहयोग पुग्ने क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामाको विश्वास छ । नेपाल तथा भारत र चीनको तिब्बतबाट समेत विशेष भक्तजनहरु आउने ऋषेश्वर क्षेत्र धार्मिक महत्वका दृष्टिले महत्वपूर्ण छ ।