हेटौंडा/पूर्वपश्चिम राजमार्गअन्तर्गत् नारायणगढ–हेटौंडा सडकखण्ड चार लेनमा विस्तार गर्न ५१ निर्माण कम्पनीले बोलपत्र पेस गरेका छन् । ७० किलोमिटर लामो सडकखण्ड स्तरोन्नतिका लागि तीन प्याकेजमा विभाजन गरी आह्वान गरिएको ठेक्कामा ती कम्पनीहरुले प्रस्ताव हालेका हुन् ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार आवेदन दिने अधिकांश कम्पनी चिनिया“ र भारतीय छन्, जसमध्ये केहीले नेपाली निर्माण व्यवसायीस“ग साझेदारी (जेभी) गरेका छन् । प्याकेज–१ अन्तर्गत् मकवानपुर जिल्लाभित्र पर्ने ४० किलोमिटर सडकका लागि १६ कम्पनीले प्रस्ताव पेस गरेका छन् । प्याकेज–२ (मकवानपुर सीमादेखि चितवनको टिकौलीसम्मको २६ किलोमिटर) मा १७ र प्याकेज–३ (टिकौलीदेखि गोन्द्राङसम्म ४ किलोमिटर) मा १८ कम्पनीको आवेदन परेको आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए ।
निर्देशनालयले हाल निर्माण कम्पनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकन गरिरहेको छ । प्रस्तावको संख्या धेरै रहेको र निर्देशनालयमा कर्मचारी हेरफेर भएकाले मूल्यांकनको काम भर्खर सुरु भएको निर्देशक ढकालले बताए । प्राविधिक मूल्यांकन सक्न चार महिना लाग्ने उनको भनाइ छ । उक्त सडकखण्ड एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार गर्न लागिएको हो । एडीबीले नारायणगढ–हेटौंडा, आ“बुखैरेनी–मुग्लिङ र कर्णाली राजमार्ग सुधारका लागि कुल ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर (करिब ४७ अर्ब) वित्तीय सहायता स्वीकृत गरिसकेको छ । अब अर्थ मन्त्रालय र एडीबीबीच ऋण सम्झौतामा हस्ताक्षर हुन बा“की छ ।
विस्तारपछि हालको दुई लेनको सडक चार लेनको बन्नेछ भने सहरी क्षेत्रमा दुई–दुई लेनको सर्भिस लेन, नाली र फुटपाथसमेत निर्माण गरिनेछ । सडकको अधिकतम् डिजाइन गति १ सय किलोमिटर प्रतिघण्टा रहने आयोजनाले जनाएको छ । यस परियोजनाअन्तर्गत् चितवनको टिकौली जंगलमा देशकै पहिलो २ किलोमिटर लामो भायडक्ट (पुलजस्तै अग्लो संरचना) निर्माण गरिने भएको छ । दुर्लभ एकसिंगे गैंडा, बाघ र हात्तीजस्ता वन्यजन्तुलाई राजमार्ग वारपार गर्न सहज होस् र सवारी दुर्घटना कम होस् भन्ने उद्धेश्यले भायडक्ट बनाउन लागिएको हो । जसमा सवारीसाधन भायडक्टमाथिबाट गुड्नेछन् भने वन्यजन्तु तलबाट सुरक्षितरुपमा ओहोरदोहोर गर्नेछन् ।
भायडक्टसँगै ठूला र अति ठूला वन्यजन्तुका लागि ३/३ वटा छुट्टै क्रसिङसमेत बनाइनेछ । करिब ६ अर्ब लागत अनुमान गरिएको भायडक्टमा अतिठूला वन्यजन्तु क्रसिङको लम्बाई १५ मिटर र उचाईं ६.५ मिटर तथा ठूला क्रसिङको लम्बाई १५ मिटर र उचाईं ४.५ मिटर रहनेछ ।














