Soccer Football - FIFA World Cup Qatar 2022 - Final - Argentina v France - Lusail Stadium, Lusail, Qatar - December 18, 2022 Argentina's Angel Di Maria celebrates scoring their second goal REUTERS/Dylan Martinez/File Photo

 काठमाडौं/हरेक विश्वकपले नयाँ नायकको जन्म दिन्छ र केही पुराना दिग्गजहरुलाई बिदाइको आँसुसँगै इतिहासको पानामा सीमित गर्छ । यस विश्वकपमा जब अर्जेन्टिनी टोली मैदानमा उत्रिन्छ, तब दर्शकहरुले बारम्बार एक जना खेलाडीको कमी महसुस गरिरहेका छन् । उनी हुन एञ्जेल डी मारिया ।

 फुटबलमा हालको पुस्ताले हल्यायडका गोलमेसिन शैलीको चर्चा गरिरहँदा अर्जेन्टिनाको बायाँ विंगमा त्यो जादुई खुट्टाको अनुपस्थिति यति खड्किएको छ कि मानौं टोलीको प्राणै कतै छुटेको छ । आश्चर्यको कुरा, यति धेरै निर्णायक क्षणहरु आफ्नो नाममा लेखाउँदा पनि उनी कहिल्यै स्टारडमको भोकमा रहेनन् । उनले सधैं लियोनल मेसीको छायामा रहेर चुपचाप आफ्नो काम गरिरहे । अतिरिक्त चमक र सामाजिकसञ्जालको होहल्लाबाट टाढा रहेर मैदानभित्र इतिहास लेख्नु नै उनको विशेषता थियो ।

सन् २०१४ को विश्वकपमा चोटका कारण फाइनल गुमाउँदा धेरै अर्जेन्टिनी समर्थकलाई लाग्थ्यो–यदि आज डी मारिया मैदानमा हुन्थे भने सायद कथा अर्कै हुन्थ्यो । त्यस चोटले उनलाई मात्र होइन, सिंगो अर्जेन्टिनालाई अझै पनि एउटा प्रश्नमा अल्झाउँछ । फुटबलमा आजभोलि सामाजिकसञ्जालका फलोअर्स र भाइरल भिडियोले खेलाडीको महानता मापन गरिन्छ । तर, डी मारिया त्यसको ठीक विपरीत थिए । उनी आँकडाका खेलाडी होइनन्, उनी भरोसाका प्रतीक हुन् । समर्थकहरुका लागि उनी एक सुरक्षा कवच थिए ।

सन् २०२४ मा कोलम्बियालाई हराउँदै दोस्रो कोपा अमेरिका जितेर उनले राष्ट्रिय टोलीबाट बिदाइ लिँदा सायद फुटबलले उनलाई दिने सबभन्दा ठूलो सम्मान पूरा ग¥यो । उनी मैदानबाट बाहिरिएका छन्, तर उनले सिर्जना गरेको त्यो विनिङ स्पिरिट हाल पनि अर्जेन्टिनी टोलीमा खाँचो छ । डी मारियाको अनुपस्थिति केवल एउटा खेलाडीको अभाव होइन, अर्जेन्टिनी फुटबलको त्यो स्वर्ण युगको एक यस्तो अध्याय हो, जसले हरेक कठिन मोडमा टोलीलाई हारबाट जोगाएको थियो । फुटबल इतिहासमा डी मारियाको नाम एउटा यस्तो सूत्रसँग जोडिएको छ, जसले अर्जेन्टिनालाई पटकपटक गौरव दिलाएको छ । मेसीको पास र डी मारियाको फिनिसिङ, यो जोडी मैदानमा हुँदा विपक्षीका लागि कुनै दुःस्वप्नभन्दा कम हुँदैनथ्यो । अर्जेन्टिनाले जितेका चार ठूला फाइनलमा डी मारियाको निर्णायक गोल रहनु सामान्य संयोगमात्र होइन, यो उनको बिगर म्याच प्लेयर भएको प्रमाण हो ।

२००८ को बेइजिङ ओलम्पिक मेसीको सटीक पासमा नाइजेरियाविरुद्धको त्यो विजयी गोल । २०२१ को कोपा अमेरिका ः माराकानामा ब्राजिलको किल्ला तोड्ने त्यो ऐतिहासिक गोल । २०२२ को फिनालिसिमा  इटालीविरुद्धको त्यो सानदार प्रदर्शन । २०२२ को विश्वकप फाइनल  फ्रान्सविरुद्ध पेनाल्टी जितको उक्त रोमाञ्चक क्षणमा डी मारियाकै गोल थियो ।