हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगिताका विजयी तथा सहभागी पत्रकारलाई प्रोत्साहन रकम र प्रमाणपत्र वितरण गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा उत्कृष्ट लेखन गर्ने पत्रकारहरूलाई सम्मान गरिएको हो।

प्रतियोगितामा पत्रकार अञ्जली थापा सर्वोत्कृष्ट घोषित भइन्। उनलाई हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले नगद रु. ४५ हजारको चेकसहित प्रमाणपत्र प्रदान गरिन्।

त्यसैगरी उत्कृष्ट लेखन गर्ने पत्रकार सुनिता बिष्ट, मनिता राना, नवीन राउत, जमुना थिङ, वसन्त भण्डारी, प्रतीक्षा न्यौपाने, रुपक कालिराज, सुजन ढकाल, सन्तोष विश्वकर्मा र आरती ढकाललाई जनही रु. १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा सहभागी पत्रकार गोविन्दप्रसाद न्यौपाने र रोहित थापालाई पनि नेपाल पत्रकार महासंघ मकवानपुरले प्रोत्साहनस्वरूप जनही रु. ५ हजार प्रदान गरेको जनाएको छ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

प्रतियोगिताको मूल्याङ्कन समितिमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, प्रदेशकी पूर्व उपाध्यक्ष सम्झना कार्की तथा महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, कार्यसमिति सदस्य सुवर्णलाल श्रेष्ठ र उज्ज्वल अधिकारी, जिल्ला उपाध्यक्ष ध्रुव अधिकारी र भावना रिजालसहित प्रदेश तथा जिल्लास्थित विभिन्न पत्रकार संगठनका पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।