हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भएको मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा महिलातर्फ ३८ केजी तौल समूहका आयोजक ‘ए’ की दीप्सिका घलान र पुरुषतर्फ ५४ केजी तौल समूहको मकवानपुर डोजाङका राजीव सञ्जेल उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट दुई खेलाडीले जनही ३ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । बागमती गाउँपालिकामा पहिलो पटक भएको जिल्लास्तरीय प्रतियोगितामा आयोजक ‘ए’ र ‘बी’ गरी आयोजकको दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । आयोजक ‘ए’ टोलीले प्रतियोगितामा सर्वाधिक पदक जितेर प्रथम स्थान हासिल गरेको छ ।
आयोजक ‘ए’ ले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ वटा पदक जितेको हो । समान ५ स्वर्ण र २ वटा कास्य पदक जितेको मकवानपुर तेक्वान्दो डोजाङ दोस्रो स्थानमा सीमित भएको छ । ४ वटा स्वर्ण पदक जितेको सिद्धार्थ तेक्वान्दो डोजाङ प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
पालिका खेलकुद विकास समितिको आयोजनामा दुई दिन प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा आयोजकसहित जिल्लाका १६ वटा डोजाङका १ सय २ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिलातर्फ २० केजीमुनि, २०–२४ केजी, २४–२८ केजी, २८–३३ केजी, ३३–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–४९ केजी र ४९–५३ केजी तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ २०–२५ केजी, २५–२८ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४५ केजी, ४५–५० केजी, ५०–५४ केजी, ५४–५८ केजी र ५८–६३ केजी तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।















