हेटौंडा । थाहा नगरपालिकामा भएको सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल बिष्ट र रोशन गोपालीको जोडीले जितेको छ । फाइनल प्रतिस्पर्धामा सुनील बिष्ट र नवीन रायमाझीको टिमलाई २१–५ र २१–१३ को सेटमा पराजित गर्दै बिमल–रोशनको जोडीले यस वर्षको उपाधि आफ्नो नाम गरेको हो ।

विजेता टिमले नगद २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको सुनील–नवीनको टिमले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना पुरस्कार सुवास–नारायण र इशाक÷नरेन्द्रको टिमले नगद ६ हजार ५ सय र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नरेन्द्र लामा उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार ५ सय ५५ सहित ट्रफी प्राप्त गरे ।

१३ टोलीको सहभागिता रहेको प्रतियोगिताको आयोजना थाहा नगरपालिकाले गरेको थियो भने व्यवस्थापन थाहा नगर ब्याडमिन्टन संघले गरेको थियो । प्रतियोगिताको दोस्रो पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको थियो । सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी र उत्कृष्ट खेलाडी पुरस्कार सिजनेवल फ्रुट एण्ड भेजिटेबल सप्लायर्सका सञ्चालक गणेश कार्कीले प्रायोजन गरेका थिए ।

थाहा नगर ब्याडमिन्टन संघ उपाध्यक्ष इशाक केसीको सभाध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगर खेलकुद विकास समिति संयोजक टीकाराम स्यांतान प्रमुख अतिथि थिए । कार्यक्रममा थाहा नगरपालिका वडा–३ का अध्यक्ष तथा नगर प्रवक्ता हीरेन्द्रकुमार रायमाझी, खेलकुद विकास समिति संयोजक अनिल लामिछाने, इलाका प्रहरी कार्यालय पालुङ प्रमुख गोबिन्द भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताले नगरभित्र ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।