धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै बजेट घोषणा गरेका हुन् । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशत् कम छ । स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ । कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड अर्थात् ३५.६४ प्रतिशत् र पुँजीगत्तर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ प्रतिशत् विनियोजन गरिएको छ । प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत् खर्चको हिस्सा बढाएको जनाएको छ ।
अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख संकलन हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट नौं अर्ब ४९ करोड ५९ लाख तथा गत आवको नगद मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख परिचालन गरिनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । प्रस्तुत बजेटबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ ।
















