हेटौँडा/ हेटौँडा–७, नागस्वतीमा पाँच दिने निःशुल्क वृहत् योग विज्ञान शिविर सुरु भएको छ । पतञ्जली योग वडा–७ समितिको आयोजना तथा वडा कार्यालयको प्रायोजनमा सुरु भएको शिविरको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गर्नुभएको हो ।

शुक्रबार बिहान ५ बजे उद्घाटन गरिएको सो शिविर १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भनिए पनि बर्षा भइै मौसम प्रतिकूल भएका कारण बिद्यालय नजिकैको कभर्ड हलमा शिविरको उद्घाटन गरिएको थियो । शिवरको पहिलो दिन करिब २ सय जना सहभागी भएका थिए । पाँच दिनसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म चल्ने शिविरमा दुई हजारभन्दा बढी मानिसलाई सहभागी गराउने लक्ष्य रहेको आयोजकले दाबी गरेको छ ।

सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा हेटौँडा–७ सँगै नजिकका वडा नम्बर ८ र १५ का बासिन्दाको समेत सहभागिता रहने अपेक्षा गरिएको छ । शिविरमा सहभागीलाई योग समितिका केन्द्रीय प्रतिनिधि लवदेव मिश्रले प्रशिक्षण दिनु हुनेछ । योगले नकारात्मक संगतबाट टाढा रहन, सकारात्मक सोचको विकास गर्न तथा खानपान र आहारविहारमा सुधार ल्याउन मद्दत गर्ने आयोजकको भनाइ छ । साथै, नसर्ने रोगको जोखिम न्यूनीकरणमा समेत योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको अभ्यास आवश्यक रहेको आयोजकको भनाइ छ । वडा कार्यालयको २ लाख सहयोग तथा अन्य निकायहरुको आर्थिक सहयोगमा भइरहेको शिविर सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

उद्घाटन कार्यक्रममा पतञ्जली योगका केन्द्रीय प्रभारी (संयोजक) लवदेव मिश्रका साथै बागमती प्रदेश समितिकी सहप्रभारी कविता थपलिया, जिल्ला अध्यक्ष रामकृण थापा, महिला समितिका जिल्ला अध्यक्ष शशिकला थापा, जिल्ला महामन्त्री ऋषि ढकाल, वडाका संयोजक रामप्रसाद दाहाललगायतको उपस्थिति थियो ।