बाँके/कुनै समय हातमा माग्ने झोला बोकेर दिनभरिको छाक टार्न भौंतारिने बा“केको डुडुवा गाउँपालिका–६, मगन्तापूर्वा टोलकी जवन्ती मगन्ता (माहुत) हाल मगन्ता समुदायकी सामान्य महिलामात्र नभइ सम्पूर्ण सीमान्तकृत र लोपोन्मुख बस्तीको भविष्य कोर्ने जनप्रतिनिधि बनेकी छन् । नयाँ संविधान जारी भएपछि कार्यान्वयनमा आएको संघीयताले सिंहदरबारको अधिकार गाउ“गाउ“मा मात्र पु¥याएन, समाजको सबभन्दा पिंधमा पारिएका सीमान्तकृत, दलित र लोपोन्मुख समुदायलाई निर्णय प्रक्रियाको मूलधारमा ल्याइदिएको छ ।
२०७८ को जनगणनाअनुसार बा“के र बर्दियामा ३ सय ४९ परिवारका १ हजार ४ सय ८९ जना (७ सय ८ महिला र ७ सय ८१ पुरुष) रहेको उक्त समुदायले पहिलो पटक स्थानीय सरकारमा प्रत्यक्ष प्रतिनिधित्व पाएको छ । आफ्नो समुदायको दुःख, पीडा र अभावलाई नजिकबाट भोगेकी जवन्ती गत २०७९ को स्थानीय तह निर्वाचनमा डुडुवा गाउ“पालिका–६ बाट वडा सदस्य निर्वाचित भएकी हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जितेकी जवन्तीलाई पार्टीले कार्यपालिका सदस्यसमेत बनाएको छ । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीबीच उनले वडास“गै पालिका बैठकमा नीतिनिर्माण र समुदायको विकासका लागि आवाज उठाउ“दै आएकी छन् । ‘यो जित केवल एउटा व्यक्तिको सफलतामात्र थिएन, वर्षौंदेखि ओझेलमा पारिएका र हेपिएका मगन्ताहरुको आत्मसम्मान र पहिचानको जित थियो,’ जवन्तीले भनिन्–हाल म मगन्ता समुदायको मात्र नभइ सिंगो वडाबासीको जनप्रतिनिधि बनेर काम गर्ने अवसर पाएकी छु । गा“स, बास र कपासजस्ता आधारभुत अधिकारबाट समेत वञ्चित रह“दै आएको अल्पसंख्यक सीमान्तकृत मगन्ता समुदायका लागि आफ्नो जित समाज परिवर्तनका लागि एउटा ऐतिहासिक फड्को रहेको उनले बताइन् ।
मगन्ता बस्तीमा छिर्दा अझ पनि गरिबीको विरक्तलाग्दो चित्र देखिन्छ । करिब १ सय १५ परिवार बस्ने बस्तीमा सबैका घर फुसका छन् । बर्खामा छानोबाट पानी चुहिएर घरभित्र ताल बन्छ, बाटो हिलाम्मे हुन्छ, अनि ओढ्ने÷ओछ्याउने र लगाउने गतिलो कपडाको सधैं अभाव रहन्छ । तर, यही अभावबीच उदाएकी जवन्तीको जितले भने बस्तीमा आशाको नया“ किरण छरेको छ । बा“केमा अल्पसंख्यक माहुत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती विभिन्न चुनौती चिर्दै समुदाय र टोलबस्तीको विकासमा खटिएकी छन् । माहुत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने सोच र योजना आफूमा रहेको उनले बताइन् । आफूले धेरै लेखपढ गर्न नजानेको तर आफ्नो बस्तीको दुःख र गरिबका समस्या कसरी उठाउनुपर्छ भन्ने राम्ररी थाहा भएको उनले सुनाइन् । माहुत समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गराएर राज्यबाट सेवासुबिधा दिलाउनु जवन्तीको प्राथमिकतामा परेको छ । उनका अनुसार जनता आवास कार्यक्रम वडामा पारेर फुसका घरलाई बिस्थापित गर्ने काम सुरु भएको छ ।













