हेटौंडा/बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरमा आयोजित समारोहमा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले सुशासन, पारदर्शिता र इमान्दारी भाषणमा मात्र नभइ व्यवहारमा देखिनुपर्ने बताएका छन् । प्रदेश प्रमुख देबकोटाले वर्तमान संविधान राष्ट्रिय अखण्डता र एकताको बलियो पहरेदार भएको बताए । संविधान दिवस मनाइरह“दा सबैले आत्मालोचना गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘आफ्नो अनुहारको धुलो मेट्नुभन्दा ऐना पुछ्न जानु गल्ती हो’ भन्ने प्रसंग उल्लेख गर्दै उनले आफूले गरेका कमजोरीको समीक्षा गर्दै सुधारतर्फ अघि बढ्नुपर्ने बताए । प्रदेश प्रमुख देबकोटाले संविधानको आधारमा सभ्य र समतामूलक समाज निर्माण गर्न सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । संविधानले परिकल्पना गरेका मूल्य र मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

रसुवामा आएको बाढीबाट मुलुकमा पुगेको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्का समयमा राज्यले जनताको साथ र सहयोगको अपेक्षा गर्ने बताए । विपद्का समयमा बागमती प्रदेश सरकारले खेलेको भूमिकाको उनले सराहना गरे । विपद्लगायत कठिन परिस्थितिमा राज्यका सबै तह र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश प्रमुख देबकोटाले संविधानको मर्मअनुसार सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

समारोहमा प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संविधानमा उल्लेखित अधिकार नागरिकले व्यवहारमा अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताए । थापामगरले संविधान नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताए । लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण व्यक्तित्वप्रति उनले सम्मान व्यक्त गरेका थिए । उनले संविधानले लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानवअधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र समानताको आधारलाई संस्थागत् गरेको बताए । संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा न्यायमा समान पहु“चको अधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।

संविधान जारी भएपछि संघीय शासन प्रणाली संस्थागत् भएको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले प्रदेश सरकारले संघीयताको मर्मअनुसार नीति, कानुन तथा योजनाहरु कार्यान्वयन गर्दै आएको बताए । संविधानको प्रभावकारी कार्यान्वयन नै यसको वास्तविक सफलता हुने उल्लेख गर्दै उनले नागरिकले सार्वजनिक सेवामा सहज स्वास्थ्य सेवा, सामाजिक सुरक्षामा प्रभावकारी पहु“च, न्याय र सुरक्षाको प्रत्याभूति पाउनुपर्ने बताएका छन् ।

युवाका लागि शिक्षा र रोजगारी, किसानका लागि उत्पादनको वातावरण तथा उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विकास आयोजनाको सुस्त प्रगति, बेरोजगारी, युवा पलायन, आर्थिक समस्या तथा राज्यप्रतिको नागरिक भरोसा कायम गर्नु हालको चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् यस्ता चुनौती समाधान गर्नुपर्ने बताएका छन् ।

समारोहमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा उपसभामुख, विभिन्न समितिका सभापति, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिव, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, शिक्षक र विद्यार्थीलगायतको उपस्थिति थियो ।