हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता असार ३ गतेदेखि सुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत् प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता असार ३ देखि ९ गतेसम्म सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ ।
यसअघि जेठ २४ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भए पनि आवश्यक आन्तरिक तयारीका कारण मिति परिवर्तन गरिएको थियो । परिषद्को २४ औं बोर्ड बैठकले जेठ महिनामै प्रतियोगिता गर्ने निर्णय गरे पनि व्यवस्थापन तथा प्राविधिक तयारीलाई थप व्यवस्थित बनाउन प्रतियोगिता केही समय पछाडि सारिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ । परिषद्ले प्रतियोगिताको विस्तृत खेलतालिका तथा विभिन्न खेलका प्राविधिक संयोजकको नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन असार ३ गते हेटौंडामा हुनेछ भने समापन समारोह असार ९ गते गरिनेछ । यद्यपि एथलेटिक्सतर्फका प्रतिस्पर्धा भने असार १ गतेदेखि नै हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सुरु हुनेछ । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, जुडो तथा टेबलटेनिस गरी १५ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका खेलाडीले सहभागिता जनाउने छन् ।
परिषद्का अनुसार प्रतियोगितामा २ हजार ९ सय ५५ खेलाडी तथा १ हजार २ सय ६ जना अफिसियल सहभागी हुनेछन् । यसरी कुल ४ हजार १ सय ६१ जनाको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ । अधिकांश खेल प्रतियोगिता हेटौंडामा सञ्चालन गरिनेछ । पुरुष तथा महिला फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल तथा टेबलटेनिसका खेल हेटौंडाका विभिन्न खेलस्थलमा आयोजना गरिनेछ । महिला क्रिकेट तथा करातेका प्रतिस्पर्धा चितवनमा हुनेछन् भने भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौं र ललितपुरका विभिन्न खेलमैदान तथा कभर्डहलमा सञ्चालन गरिनेछ ।
खेलगत् सहभागिताको तथ्यांकअनुसार एथलेटिक्समा सबभन्दा बढी ४ सय ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि बागमती प्रदेश सरकारले १३ करोड २० लाख बजेट विनियोजन गरेको छ । फुटबलमा ३ सय ६०, भलिबलमा ३ सय १२, तेक्वान्दोमा २ सय ६२, क्रिकेटमा २ सय २४, करातेमा २ सय १८, आईटीएफ तेक्वान्दोमा २ सय १८, बक्सिङमा १ सय ७०, उसुमा १ सय ५९, जुडोमा १ सय ३८, फुल कन्ट्याक्ट करातेमा १ सय ३०, ब्याडमिन्टनमा ७८, बुद्धिचालमा ७८, टेबलटेनिसमा ७८ तथा पौडीमा ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न खेलका अनुभवी प्राविधिक तथा खेलविज्ञलाई संयोजकको जिम्मेवारी दिइएको छ । क्रिकेटमा अनिल अधिकारी, भलिबलमा सुनिता गौतम, करातेमा रवि महर्जन, फुटबलमा अमृत लुङ्वा तथा एथलेटिक्समा शुक्र माझीलाई प्राविधिक नेतृत्वको जिम्मेवारी तोकि
एको छ ।



















