हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा प्यानलगत् प्रतिस्पर्धा गर्ने गरी प्रदेश नेताहरुले आन्तरिक छलफल सुरु गरेका छन् । बागमतीको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार मतदानको समय तोकिएको छ । हेटौंडामा २६ जेठमा उद्घाटन भइ मतदान प्रक्रिया सुरु नगरी स्थगित गरिएको अधिवेशनको स्थान काठमाडौंमा सारिएको छ ।

३० जेठका लागि मतदानको समय तोकिएको छ । सभापतिका लागि चार जनाको उम्मेद्वारी परेको छ । सभापतिमा डा. अच्युतम् लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठको उम्मेद्वारी परेको छ । सभापतिका आकांक्षी देखिएका बदन भण्डारीले भने उम्मेद्वारी दर्ता गरेनन् ।

प्रदेश तहका एक नेताका अनुसार चार उम्मेद्वारमध्ये डा. लामिछाने र अर्यालबीच मुख्य प्रतिस्पर्धा हुनेछ । लामिछाने हाल सभापति छन् भने अर्याल प्रवक्ता हुन् । सभापतिका आकांक्षी भण्डारीले उम्मेदवारी नदिएर डा. लामिछानेलाई सघाउने आन्तरिक सहमति भएको ती नेताले दाबी गरे । उनी भन्छन्—अच्युतम् र उत्सवबीच मुख्य प्रतिस्पर्धा हुने हो । सभापतिमा बदनले उम्मेद्वारी नदिएपछि अच्युतम्लाई लाभ हुने देखिएको छ ।

रास्वपा स्रोतका अनुसार अच्युतम् र बदनबीच अघोषित सहमतिसमेत बनिसकेको छ । सभापतिमा अच्युतम् निर्वाचित भएपछि नयाँ आउने पदाधिकारी बदनलाई बनाउने गरी आन्तरिक छलफल भएको जानकारी गराइएको छ । अधिवेशन र भावी पदाधिकारीबारे भइरहेको छलफलबारे एक प्रदेश सदस्यले भने—अच्युतम्को टिमबाट बदन र सुरेन्द्र भट्ट महामन्त्रीका आकांक्षी हुन् । एउटालाई उपसभापति र अर्कोलाई महामन्त्री बनाउने गरी सहमति जुट्छ । भट्ट हाल बागमती महामन्त्री छन् । काभ्रे—२ बाट निर्वाचित भण्डारी सार्वजनिक मामिला विभागका सचिवसमेत हुन् ।

डा. रमेश ढकाल र हाल सहमहामन्त्री राधिका तिमिल्सिना उपसभापतिका आकांक्षी छन् । कोषाध्यक्ष मेनुका ठकुरी महामन्त्रीको आकांक्षी छन् । ठकुरीले भनिन्—पहिले सभापति र सदस्यहरुको चुनाव हुनुप¥यो । पदाधिकारीमा उठ्ने बारे त्यसपछि छलफल हुन्छ । रास्वपाको विधानअनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन गर्नपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि छुट्टै मतदान गर्नपर्ने व्यवस्था विधानमा छ । प्रदेश सभापतिमा निर्वाचित हुनका लागि कुल सदर मतको ५० प्रतिशत् मत कटाउनु पर्दछ । खसेको मतको बहुमत कसैको पक्षमा नभएमा पहिलो र दोस्रो स्थान मत ल्याउने बीच पुन प्रतिस्पर्धा हुनेछ । प्रदेश सभापतिको प्रतिस्पर्धामा २५ प्रतिशत् मत कटाउने निकटतम् प्रतिस्पर्धीलाई स्वतः प्रदेश सदस्य हुने व्यवस्था छ ।

प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष प्रवक्ता १÷१ र सहमहामन्त्री २ जना (फरक लिंग) हुने गरी पदाधिकारी गठन गर्ने व्यवस्था छ । सात पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्तालाई प्रदेश सभापतिको सिफारिसमा प्रदेश समितिले मनोनीत गर्ने व्यवस्था छ । रास्वपा विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश अधिवेशनका लागि १ हजार ३ सय बढी प्रतिनिधि छनौट भएका थिए । पार्टी समयोजनका क्रममा चार सय बढी प्रतिनिधिविरुद्ध उजुरी परेको हुँदा समाधानका लागि मतदानको समय पर सार्न परेको निर्वाचन आयोगले जानकारी गराएको छ । शनिबार हुने मतदान प्रक्रिया विद्युतीय माध्यमबाट हुने जानकारी गराइएको छ ।