हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१३ मा असार ५ गतेदेखि वडा स्तरीय मेयर कप २०८२/८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पदमपोखरी युथ क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता टोलीले नगद २ लाख रुपैयाँ तथा उपविजेता टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।
खेलप्रेमी, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका सरोकारवालाको उत्साहजनक सहभागितासँगै प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।















