हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबार उद्घाटन गरिएको छ।
सरस्वती टोल विकास संस्थाको आयोजना तथा हेटौंडा–११ वडा कार्यालयको प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष जुना दाहालले पानसमा दीप प्रज्वलन गरी तथा खेलाडी कप्तानलाई बल हस्तान्तरण गरेर गरेकी हुन्।
उद्घाटन खेल आयोजक संस्थाका ए र बी टोलीबीच भएको थियो। प्रतियोगिताको पहिलो दिन नै ६ वटा टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिसकेको कार्यक्रम संयोजक सञ्जय बिडारीले जानकारी दिए।
आयोजकका अनुसार जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोली सहभागी रहेका छन्। प्रतियोगितामार्फत खेलकुदको विकास, युवाहरूबीच आपसी सम्बन्ध सुदृढीकरण तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको आयोजक सज्जन रिमालले बताए।
सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न टोलीका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोहमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेलकुद तथा विशेषगरी भलिबल क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने अग्रज खेलाडी तथा खेलकुदकर्मीहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।


















