हेटौंडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामाविरुद्ध हालेको अविश्वासको प्रस्ताव हेटौंडामा भएको विशेष साधारणसभामा उपस्थित प्रतिनिधिले सर्वसम्मत अस्वीकृत गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघको कार्यसमितिले जेठ १० गते बोलाएको विशेष साधारणसभामा ५१ प्रतिशत गणपुरक संख्या उपस्थित नभएपछि विधानअन्तर्गत दोस्रो पटक आह्वान गरिएको थियो । विशेष साधारणसभाको उद्घाटनसत्रमा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघका प्रतिनिधि दिलजीत खन्नाको उपस्थिति थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ को (घ) मा व्यवस्था भएबमोजिम एक दिनको फरक गरी ११ गतेका लागि पुनः विशेष साधारणसभा आह्वान गरिएको थियो । नेपाल सरकार खेलकुद विकास ऐन, २०७७ बमोजिम गठित नेपाल बुद्धिचाल महासंघको विधान २०४८, राखेपबाट मिति २०८१ मा स्वीकृत आठौं संशोधन २०८० अनुसार सोमबार ३३ प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थितमा विशेष साधारणसभा सम्पन्न गरेको हो ।
हेटौंडामा उपाध्यक्ष माधवप्रसाद प्रधानको सभाध्यक्षतामा सञ्चालन भएको साधारणसभामा प्रतिनिधि एवम् फिडे रुल्स कमिसनका काउन्सिलर उमेश केसीले प्रस्तुत गरेको सुझाव एवम् पूरक प्रस्तावलाई महासंघले दस्तावेजीकरण गर्ने निर्णय पनि गरेको छ । अविश्वासको प्रस्तावविरुद्ध अध्यक्ष र महासचिवले प्रतिरक्षा गर्दै महासंघलाई थप गति प्रदान गर्न योजनासहितको खाका प्रस्तुत गरेका थिए । विशेष साधारणसभाका प्रतिनिधिहरुको जिज्ञासामा विचारविमर्श गरी विभिन्न निर्णय पनि गरिएको छ । विशेष साधारणसभाले विधानविपरीत महासंघको गरिमामाथि आँच आउने भ्रामक कार्य नगर्न र नगराउन सचेत गराउने निर्णय पनि गरेको छ ।
अविश्वास प्रस्तावमाथि बैशाख ३० गते बसेको बैठकले विधानको परिच्छेद ७ दफा २२ उपदफा २ मा स्पष्टरुपमा उल्लेखित ‘उपदफा १ बमोजिम दर्ता हुन आएको अविश्वासको प्रस्तावमाथि छलफल र निर्णयका लागि सम्बन्धित कार्यसमितिले ३५ दिनभित्र विशेष साधारणसभा बस्ने गरी सूचना दिनुपर्नेछ’ भन्ने व्यवस्थाअनुसार मिति तय भएको थियो । नेपाल बुद्धिचाल महासंघका साधारणसभा सदस्य १ सय १८ जनामध्ये ७ जना प्रतिनिधिले कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराउँदै हेटौंडामा सम्पन्न सभाका लागि सहमतसहित शुभकामना सन्देश पठाएका थिए ।
केन्द्रीय कार्यसमितिले बहुमतद्वारा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि विशेष साधारणसभा हेटौंडामा गर्ने निर्णय भएको थियो । स्थानका सम्बन्धमा केही पदाधिकारीले भने लिखित असहमति जनाएका थिए । विशेष साधारणसभामा पर्यवेक्षकको निष्पक्ष भूमिकाका लागि आफ्नो छाता संस्थाहरु वल्र्ड चेस फेडरेसन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा लिखित जानकारी पेश गरिएकोमा फिडे डेलिगेट खन्ना आएका थिए ।

















