हेटौंडा/नेपाली महिला फुटबल जगत्मा ४० वर्षदेखि सक्रिय अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय÷अन्तर्राष्ट्रिय फुटबल खेलमा प्रतिस्पर्धा गरेकी हेटौंडा-२ की कल्पना शर्मा (राउत) लाई हेटौंडामा सम्मान समर्पण गरिएको छ । उनलाई मदन भण्डारी फाउन्डेसन मकवानपुरले स्थापना गरेको फाउन्डेसन संस्थापक अध्यक्ष श्रीचन्द्र शर्मा स्मृति सम्मानको पाँचौं संस्करणको सम्मान प्रदान गरिएको हो ।

नेपालकी पहिलो महिला फिफा रेफ्री कल्पना ४० वर्षअगाडि जब नेपालमा महिला फुटबल टिम नै थिएन, तब फुटबल खेल्दै राष्ट्रिय खेलाडी बनेकी हुन् । उनी पहिलो नेपाली महिला फिफा रेफ्री बन्न सफल भएकी छन् । उनी १९९९ देखि २०१५ सम्म फिफा रेफ्रीका रुपमा कार्यरत् रहेकी उनले एसियन खेल, साफ खेल र अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिकामा महत्वपूर्ण योगदान पुर्याइसकेकी छन् ।

नेपाली फुटबल, त्यसमा पनि महिला फुटबलको इतिहास त्यति लामो छैन । नेपालमा महिला फुटबलको शुरुवात ४० को दशकबाट भएको पाइन्छ । यो छोटो अवधिमा त्यस्ता केही चेली जन्मिए, जुन हाल नेपाली महिला फुटबलका प्रेरणाका स्रोत बन्न पुगेका छन् । जसको नाम उच्चारणसँगै नेपालीहरुको छाति गर्वले चौंडा हुने गर्छ । तत्कालीन समयमा नेपाली खेलकुदमा महिला फुटबलको उपस्थिति आफैंमा चुनौतीपूर्ण थियो । विश्वास गर्नपर्ने निकायले महिला फुटबललाई पत्याउनै सकेको थिएन । यस्तो विषम् परिस्थितिका बाबजुद् पनि महिला फुटबलमा आफूलाई पूर्णरुपमा समर्पित गर्दै राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन विशेष भूमिका निर्वाह गर्ने मध्यकी एक चेली हुन् उनी ।

उनको आत्मविश्वास, लगनशीलता र समर्पणबाट प्रेरित भएर पछिल्लो समय नेपाली महिला फुटबलमा युवा प्रतिभाहरुको आकर्षण बढ्दो छ । खेलकुदमय परिवेशमा जन्मिएकी उनलाई ४० को दशकमा पनि फुटबल खेलमा लाग्न त्यति असहज भएन । उनकी दिदी गायत्री शर्मा सुटिङ तथा बहिनी बबिता शर्मा कराते खेलाडी थिए । परिवार नै खेलकुदका पारखी भएका कारण उनी पनि यसैमा होमिएकी थिइन् । नेपाली खेलकुदको नाजुक परिस्थितिका बाबजुद् उनका आमाबुबाले भने आफ्नी छोरीको सुनौलो भविष्य फुटबलमै देखेका थिए । त्यसैले त उनको आमाबुबाले उनले फुटबल खेल्छु भन्दै गर्दा कुनै प्रकारको नाईंनास्ती गरेनन् । उल्टै, फुटबल खेलेर पनि भविष्य राम्रो हुन्छ भन्ने जोशिला र प्रेरणादायी कुरा गरेर आफ्नी छोरीको हौसला बृद्धि गरिदिए ।

उनले फुटबल खेल्न शुरु गर्दा भर्खर नेपालमा महिला फुटबलको चहलपहल शुरु भएको थियो । यसरी ४० को दशकबाट फुटबल अनि मैदानसँगको नाता गाँसेकी उनलाई फुटबलसँगको नाता निकै प्यारो लाग्यो । जुन नाता उनले ७० को दशकसम्म निरन्तररुपमा निभाउन सफल भइन्, सक्रिय खेलाडी र फिफा रेफ्रीको रुपमा । सामान्य खेलाडीका रुपमा फुटबलसँग सम्बन्ध गाँसेकी उनलाई लागेको थिएन् कि यो नाता यति टिकाउ हुनेछ भनेर । निरन्तरता नै सफलताको उपज हो भन्नेबारे राम्रो ज्ञान भएकी उनी भोलि अवश्य राम्रो हुनेछ भन्दै अघि बढिन् । उमेरले पाको भए पनि पहिलो पटक मैदानमा उत्रिँदै गर्दा पलाएको जोसजाँगर उनीमा हाल पनि उस्तै छ । यसरी नेपाली महिला फुटबल विकासका लागि भिन्न जोसजाँगर भर्दै आएकी उनी दक्षिण एसियाकै पहिलो महिला फिफा रेफ्री हुन् ।

कल्पना २०२८ पुस १४ गते केदारप्रसाद शर्मा र शान्तादेवी शर्माको कोखबाट हेटौंडास्थित भैरवरोडमा जन्मिएकी हुन् । उनका ३ दिदीबहिनी र ३ दाजुभाइ छन् । कल्पनाले फुटबल खेल्न शुरु गर्दा उनी १२ वर्षकी थिइन् । २०४० सालमा नेपालमा भर्खर महिला फुटबल समिति गठन भएको थियो । यसक्रममा जिल्ला फुटबल समितिले जिल्लामा खेलाडी उत्पादन कार्यक्रम आयोजना ग¥यो र कल्पना त्यसैको उपज हुन् ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं कल्पनाका लागि उक्त कार्यक्रम निकै उपयोगी साबित बन्न पुग्यो । उनले आफ्नो चाहनाअनुसार फुटबलमा पसिना बगाउने मौका पाइन् । केही समयमै फुटबलको राम्रै खेलाडीका रुपमा उनको पहिचान भयो । परिणाम, कल्पनाले सोही वर्ष मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै अञ्चलस्तरीय प्रतियोगिता सहभागी हुने साइत जु¥यो । पछि मकवानपुर, पर्सा र चितवन गरी तीन जिल्लाका उत्कृष्ट खेलाडी छनौट गरी नारायणी अञ्चलको टोली तयारी पारियो । अञ्चलको उत्कृष्ट खेलाडीको टोलीमा कल्पना परिन् । २०५६ सालसम्म उनले विभिन्न प्रतियोगितामा अञ्चल टोलीको मिडफिल्डरको भूमिका कुशलतापूर्वक निभाइन् ।

फुटबलमा सुकाएको रगत र बगाएको पसिनाले माझिँदै जाँदा कल्पना एक स्तरीय खेलाडी बनिसकेकी थिइन् । जिल्ला, अञ्चल, क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता खेल्दै कल्पना २०४६ सालमा राष्ट्रिय टोलीमा परिन् । सोही वर्ष नेपाली महिला फुटबल टोलीको प्रतिनिधित्व गर्दै उनी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हङकङ पुगेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको त्यही वर्षदेखि ८ वर्षसम्म नेपालमा पुनः महिला फुटबलका गतिविधिहरु ठप्प बन्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबललाई महत्व नदिएकाले नेपाली खेलाडीले भोग्नुपरेको दुर्भाग्यपूर्ण अवस्था सम्झँदा कल्पना निकै भावुक हुन्छिन् । ८ वर्षपछि एन्फाले महिला फुटबल समिति गठन गरी यसको नेतृत्व ग्यालेक्सी पब्लिक स्कुलकी तत्कालीन प्रिन्सिपल गीता राणालाई सुम्पिदिएपछि नेपालमा महिला फुटबलको गतिविधि पुनः सञ्चालनमा आयो । करिब एक दशक नेपालमा महिला फुटबलको गतिविधि ठप्प बन्न पुग्दा कल्पना केही समय फुर्सदिलो बनिन् । फुटबलको नसाले लठ्ठिएकी कल्पनाले आफ्नो बाँकी जीवन पनि फुटबलमै व्यतित गर्ने सोचले त्यसपछि उनी रेफ्रीतर्फ आकर्षित भइन् । आफूलाई फुटबल खेलाएका दाइहरुको सल्लाहमा उनले जिल्लामा हुने पुरुष फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निभाउन थालिन् । उनले पहिलो पटक २०५० सालमा रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाएकी थिइन् ।

करिब ६ वर्ष स्थानीय तथा राष्ट्रिय प्रतियोगितामा रेफ्रीको जिम्मेवारी सम्हालेपछि कल्पनालाई २०५६ सालमा फिफा रेफ्री कोर्स लिने अवसर मिल्यो । मलेसियामा भएको पाँच दिने सेमिनारमा सहभागी भएपछि कल्पनाले सन् १९९९ (२०५६) मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् । उक्त सेमिनारपछि कल्पनालाई फिफाले सहायक फिफा रेफ्रीको ब्याच लगाइदिएपश्चात् उनी नेपालको मात्र नभइ दक्षिण एसियाकै पहिलो महिला फिफा रेफ्री बनेकी थिइन् । त्यसपछि धेरै वर्ष उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजित पुरुष फुटबल प्रतियोगिताहरु खेलाएर आफ्नो जिम्मेवारीलाई उत्कृष्टताको लालमोहर लगाउन सफल भएकी थिइन् ।

यसबीच लामो समयको प्रेमसम्बन्धपछि २०५७ मा कल्पनाले हरिबहादुर राउतसँग विवाह गरिन् । शिक्षित परिवार जसले खेलकुदलाई राम्रोसँग बुझेकै कारण विवाहपश्चात् पनि उनलाई खेलकुदमा लाग्न कुनै अवरोधको सामना गर्नपरेन । उनका पतिले समेत उनको पेसालाई निरन्तर अघि बढाउन थप हौसला प्रदान गरे । आफूलाई कल्पना शर्मा भनेर स्वदेश तथा विदेशमा फुटबलले निचाएकोमा उनी गर्व गर्छिन् । फुटबल नसानसामा बगेको बताउने कल्पना आगामी वर्षहरु पनि फुटबलको सेरोफेरोमा रहेर बिताउन चाहन्छिन् । उमेरले ५० वसन्त पार गर्दै गरेकी कल्पना फुटबललाई आफ्नो मुख्य पेसा बनाएर जीवन धानिरहेकी छन् । पुरुषको दाँजोमा महिला रेफ्रीलाई सुबिधा कम भएको उनको भनाइ छ । नेपालमा आफूजस्तै महिला खेलाडी उत्पादन हुनुपर्छ भन्ने उद्धेश्य बोकेकी कल्पना हाल पनि दिनहुँजसो फुटबल सिकाइरहेकी छन् ।

नेपाली महिला फुटबलमा इतिहास रचेकी कल्पना आफ्नो समयमा भन्दा हाल महिला रेफ्रीको सेवासुबिधामा धेरै सुधार भएको र फुटबल खेलाएर पनि परिवार धान्न सक्ने बताउँछिन् । यसका लागि निरन्तरता र धैर्यताको खाँचो हुने कुरामा उनले जोड दिइन् । फुटबल रेफ्री पेसामा लाग्न चाहने नयाँपुस्ताको भविष्य राम्रो देखेकी कल्पना उनीहरुलाई खेलसँगै शिक्षालाई पनि सँगै अघि बढाउनुपर्ने सुझाव दिन्छिन् ।