भीमफेदी /बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नतिका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट विनियोजनसँगै हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग निर्माण तथा स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्ने भएको छ।

नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको पहल र बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको विशेष सक्रियतामा सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएको जनाइएको छ।

वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा रहेको यस सडकमा बजेट विनियोजन भएपछि निर्माण तथा सुधार कार्यले गति लिने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि भीमफेदी–देउराली खण्डमा रहेको सवारी चाप व्यवस्थापनमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार केही  समय अघि भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटा तथा पूर्वाधार विकास कार्यालयका प्रमुखसहितको टोलीले सडकको स्थलगत अनुगमन गरेको थियो। सोही अनुगमनबाट प्राप्त आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उनले बताए।

अध्यक्ष लामाले आगामी आर्थिक वर्षमा उक्त सडकलाई करिब ५० करोड रुपैयाँको बहुवर्षीय ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको जानकारी दिए। बहुवर्षीय योजना कार्यान्वयनमा गएमा दुई वर्षभित्र सडक पूर्ण रूपमा स्तरोन्नति गरी हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो तथा महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

स्थानीयवासीले सडक स्तरोन्नतिका लागि बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा स्वागत गरेका छन्। सडक सुधारसँगै यातायात सेवा सहज हुनुका साथै व्यापारिक गतिविधि विस्तार, ग्रामीण क्षेत्रको पहुँच वृद्धि तथा स्थानीय आर्थिक विकासमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।