हेटौंडा । बागमती प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपियाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ । नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (२४ खर्ब २३ अर्ब १२ करोड) रहने देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रदेश आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार बागमतीको उक्त अर्थतन्त्रसहित नेपालको अर्थतन्त्र आकार ६६ खर्ब ९ करोड पुग्ने अनुमान गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८२÷०८३ प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । कुल गार्हस्थ्य उत्पादनमा सेवाक्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.२ प्रतिशत र कृषिक्षेत्रको योगदान ११.२ प्रतिशत रहने अनुमान छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको उल्लेख छ । पछिल्ला वर्षको तुलनामा मुद्रास्फीति नियन्त्रणको अवस्थामा देखिए पनि उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको मन्त्री तामाङले बताउनुभयो ।

आर्थिक सर्वेक्षणले प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसतभन्दा बढी देखाएको छ । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर रहने अनुमान गरिएकोमा बागमतीका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरु उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबभन्दा ठूलो योगदान पु¥याइरहेको उहाँको भनाइ छ । प्रदेशको अर्थतन्त्रमा सेवाक्षेत्रको प्रभुत्व कायम रहेको उल्लेख गर्दै आर्थिक मामिला मन्त्री तामाङले कुल गार्हस्थ्य उत्पादनमा सेवाक्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार कुल गार्हस्थ्य उत्पादनमा उद्योगक्षेत्रको योगदान १२.२ प्रतिशत र कृषिक्षेत्रको योगदान ११.२ प्रतिशत रहने अनुमान छ ।

मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । पछिल्ला वर्षको तुलनामा मुद्रास्फीति नियन्त्रणको अवस्थामा देखिए पनि उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको सर्वेक्षणले औंल्याइएको छ ।

प्रदेश सरकारको खर्चको अवस्था भने अपेक्षाअनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च १५ अर्ब ५ करोड ८ लाख पुगेको छ, जुन वार्षिक विनियोजनको २२.३० प्रतिशत हो । यस अवधिमा चालुतर्फ ३०.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १७.१२ प्रतिशतमात्र खर्च भएको तथ्यांकले विकास बजेट कार्यान्वयन अझै सुस्त रहेको संकेत गरेको छ । प्रदेश सरकारले फागुनसम्म कुल आय, राजस्व बाँडफाँट र नगद मौज्दातसहित ३८ अर्ब ७८ करोड ७० लाख संकलन गरेको छ । यो वार्षिक अनुमानको ५७.४८ प्रतिशत बराबर हो ।

नेपालमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेकोमा बागमती प्रदेशमा उक्त दर ६४.५ प्रतिशत पुगेको मन्त्री तामाङले बताउनुभयो । प्रदेशको कुल जनसंख्याको ४४.५२ प्रतिशत कृषि पेशामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ । प्रतिकूल मनसुनका कारण यस वर्ष धान र गहुँ उत्पादनमा केही कमी आएको भए पनि अन्य खाद्यान्न तथा नगदे बालीको उत्पादन बढेको उल्लेख गरिएको छ । सिचाईं पूर्वाधार विस्तारतर्फ प्रगति भएको छ । फागुनसम्म प्रदेशका सिचाईंयोग्य जमिनमध्ये ५०.२६ प्रतिशत क्षेत्रमा सिचाईं सुबिधा पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म १३.५४ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । ८२.१५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति तथा १२६.०८ किलोमिटर कालोपत्र सडक स्तरोन्नति गरिएको सर्वेक्षणमा उल्लेख छ भने नियमित तथा आवधिक सडक मर्मतसम्भारको काम पनि निरन्तर जारी रहेको मन्त्री तामाङले सर्वेक्षणमार्फत उल्लेख गर्नुभएको छ ।

प्रदेशमा वैकल्पिक ऊर्जासहित ९९.९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । प्रदेशका ९३.४० प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुबिधा, विद्युत् तथा खानेपानी पहुँचका सूचकहरु राष्ट्रिय औसतभन्दा माथि रहेको प्रदेश सरकारले जनाएको छ ।

आर्थिक सर्वेक्षणअनुसार प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०८२ मा आधारभुत तह (कक्षा १—८) को खुद भर्नादर शतप्रतिशत पुग्दा माध्यमिक तह (कक्षा ९—१२) मा भने खुद भर्नादर ५१.८ प्रतिशत छ । स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रति एकलाख जीवित जन्ममा ९८ छ ।