हेटौंडा । हेटौंडा–३ बसामाडीस्थित सनसाइन इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

स्कुलका प्राचार्य राजकुमार नहर्कीको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालयका प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा अध्ययन सुरु गरेका विद्यार्थीहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो।
कार्यक्रमकै अवसरमा प्रमुख अतिथि पाठकले होटल म्यानेजमेन्टको प्रयोगात्मक कक्षाको रिबन काटेर उद्घाटन गरेका थिए। स्वागत मन्तव्य रामप्रसाद नहर्कीले राखेका थिए।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पाठकले विद्यार्थीहरूलाई अध्ययनप्रति समर्पित हुन आग्रह गर्दै मेहनत र अनुशासनले मात्र उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताए। उनले आफ्नो विद्यार्थी जीवन सम्झँदै अहिलेको पुस्ताले घर नजिकै आधुनिक शैक्षिक सुविधा पाउनु ठूलो अवसर भएको उल्लेख गरे।
प्राचार्य नहर्कीले विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत होटल म्यानेजमेन्ट तथा व्यवस्थापन संकायको अध्ययन–अध्यापन सुरु भइसकेको जानकारी दिए। विद्यालयमा सुविधा सम्पन्न भवन, आधुनिक कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय तथा यातायात सेवा उपलब्ध रहेको उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।














