हेटौंडा । विश्व रक्तदाता दिवसको अवसर पारेर हेटौंडामा आयोजित बृहत् खुला रक्तदान कार्यक्रमबाट ४० भन्दा बढी युनिट रगत संकलन गरिएको छ। हेटौंडा–४ बुद्धचोकमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

खड्का समाज मकवानपुर र नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। “रक्तदान, जीवनदान” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा युवा, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन खड्का समाज मकवानपुरका अध्यक्ष दिपक खड्का, नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाका अध्यक्ष पूर्णप्रसाद अर्याल तथा रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टङ्क दाहालले संयुक्त रूपमा गरेका थिए। उद्घाटनका क्रममा वक्ताहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमका रूपमा व्याख्या गर्दै नियमित रक्तदानको संस्कार विकास गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जिल्लामा बेला–बेलामा देखिने रगत अभावको समस्या समाधानका लागि यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनीहरूले आवश्यक पर्दा बिरामीहरूले सहज रूपमा रगत प्राप्त गर्न सकून् भन्ने उद्देश्यले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए।

रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई आयोजकले प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने रक्तदाता, स्वयंसेवक, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

मानव जीवन बचाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानले हेटौंडामा रक्तदानप्रति सकारात्मक जनचेतना फैलाउनुका साथै रगत अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।