हेटौँडा । हेटौँडा उपमहानगरपालिका-८ भावनामार्गमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेको घटनामा मृतककी श्रीमतीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ ।

मृतक ४६ वर्षीय शंकर कार्कीका भतिज विशाल कार्कीले उनकी श्रीमती चरिमाया कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएका हुन् ।

शुक्रबार बिहान शंकर घरको दोस्रो तलामा फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनकी श्रीमती चरिमाया भने भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीकाअनुसार श्रीमान्-श्रीमतीबीच विवाद भएपछि चरिमायामाथि धारिलो हतियार प्रहार भएको थियो । चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ । उनलाई सुरुमा हेटौँडा अस्पताल लगिएको थियो । थप उपचारका लागि उनका कान्छा छोराले भरतपुर अस्पताल लगेका छन् ।

घटनास्थलमा रगत लागेको अवस्थामा ढुंगाको लोहोरो, धारिलो हतियार र इँटासमेत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । चरिमाया उपचाररत रहेकाले उनीसँग सम्बन्धित अनुसन्धान प्रक्रिया पनि अघि बढाइने उनले बताए ।

शंकर कार्कीको शवको शनिबार बिहान पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव परिवारले बुझ्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।