हेटौंडा/लगातारको वर्षापछि मकवानपुरको बकैया गाउ“पालिका–६ स्थित ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन भासिने, धा“जा फाट्ने र चिरा पर्ने क्रम बढेपछि जिल्ला सुरक्षा समितिले स्थलगत् निरीक्षण गरेको छ । त्यहा“को बस्ती विकास २०२० सालदेखि भएको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा मंगलबार सुरक्षा निकायसहित टोलीले बकैया–६ को ठूलो ज्यामिरेलगायत जोखिमयुक्त क्षेत्रको स्थलगत् निरीक्षण गरेको हो । जमिन भासिने, धा“जा फाट्ने (क्र्याक हुने) र चिरा पर्ने प्रक्रियालाई भुगर्भ विज्ञानमा भुधसान भनिन्छ । नेपालका विभिन्न पहाडी तथा भित्री मधेसका क्षेत्रहरुमा यस्तो समस्या वर्षेनी देखापर्ने गरेको छ ।

बकैया गाउ“पालिका–६ को ठूलो ज्यामिरे गाउ“पालिकाको वडा नम्बर–६ कै ठूलोसुधाबाट करिब तीन घण्टा पैदल यात्रापछि पुगिने दुर्गम क्षेत्रमा पर्दछ । स्थानीयका अनुसार ठूलो ज्यामिरेआसपास करिब दुई किलोमिटर क्षेत्रफलमा जमिन भासिने र चिरा पर्ने समस्या देखिएको छ । कतिपय स्थानमा जमिनमा गहिरा चिरा परेको, जमिनको केही भाग सरेको तथा चिरा पर्दा जमिनभित्रबाट डङ्डङ् आवाजसमेत सुनिने गरेको स्थानीयले बताएका छन् ।

जमिन धसिने र चिरा पर्ने क्रम बढ्दै गएपछि प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई तत्कालका लागि नजिक रहेको शंखेश्वरी प्राथमिक विद्यालयमा स्थानान्तरण गरेको छ । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेर थप क्षतिको सम्भावना कम गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ । ठूलोज्यामिरे, मोरङढाप, ओढारखोलालगायत क्षेत्रमा करिब ८५ घरपरिवार उच्च जोखिममा रहेको पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार जमिन चिरिने र भासिने क्रम बढेपछि हालसम्म १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यहा“का आठ वटा घर पूर्णरुपमा क्षतिग्रस्त छन् भने झण्डै ८५ घरधुरी प्रभावित बनेको पालिका उपाध्यक्ष खत्रीले जानकारी दिए ।

बकैया गाउ“पालिका–६, तल्लो ज्यामिरेका स्थानीय त्रासमा छन् । ‘जमिनस“गै घरभित्र चिरा पर्न थालेपछि डाङ्डाङडुङ्डुङ गरी आवाज आउन थाल्यो,’ स्थानीयले भने–घर नै चिराचिरा परेर भत्कन थालेपछि राति छिमेकीकोमा बसेको र हाल स्कुलमा बस्दै आएका छौं । त्यस क्रममा जमिनभित्रबाट अस्वभाविक आवाज आएको थियो । वरपरको जमिन चिरा पर्ने र घर नै भत्कन थालेपछि आफूहरु ठूलो समस्यामा परेको स्थानीय चन्द्रमाया थिङले जानकारी दिइन् । ८४ वर्षीय रामबहादुर घलान जमिन चिराचिरा पर्ने क्रमस“गै घर भत्किएपछि घरबारविहीन बनेको बताउ“दै तत्काल सुरक्षित स्थानान्तरणको खोजीमा रहेको बताउ“छन् । जमिन फाट्नुका साथै सडक र विद्युत्का खम्बासमेत ठाउ“ठाउ“मा कोल्टिएपछि गाउ“ नै त्रासमा रहेको बकैया–६ का वडा अध्यक्ष फूलमान भम्जनले बताए ।

स्थानीयका अनुसार असोज ११ गतेदेखि जमिन फाट्ने र भासिने क्रम थप तीव्र भएको हो । यसअघि पनि उक्त क्षेत्रमा २०५८ र २०६३ सालमा जमिन चिरिएको स्थानीयले बताएका छन् । तर, यसपटक भने विगतको तुलनामा विभिन्न स्थानमा ठूला र गहिरा चिरा परेको उनीहरुको भनाइ छ । स्थलगत् निरीक्षणका क्रममा करिब दुई वर्गकिलोमिटर क्षेत्र धा“जा फाटेर चिरिएको तथा सडकभन्दा माथिल्लो भागको जमिन कतिपय स्थानमा करिब १२ फिटसम्म धसेको पाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् ।

उनका अनुसार जमिन भासिने क्रम रोकिएको छैन र प्रभावित क्षेत्रमा थप जोखिम हुनसक्ने देखिएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रभावित क्षेत्रको अवस्थाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताए । उनले जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै रातको समयमा जोखिमयुक्त घरमा नबस्न अनुरोध गरे । प्रजिअ अधिकारीले जमिन चिराचिरा परिरहेको अवस्थामा पहिलो प्राथमिकता आफ्नो ज्यानको सुरक्षा भएको भन्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरे । ‘घटनाबारे जानकारी पाउनासाथ फापरबारी प्रहरी चौकीका साथै सशस्त्र प्रहरी, नेपाली सेनासहित त्यहा“का बासिन्दालाई सुरक्षित रहन सूचना जारी गरिएको छ,’ उनले भने–हाल स्थानीय राति स्कुलमा बस्छन् । त्यहा“को भुबनोट कमजोर र जोखिमपूर्ण छ । कमसल खाले माटो र ढुंगाले बनेको भुभागका धेरै बस्ती जमिन चर्किने समस्याबाट पीडित छन् । जमिनको माथिल्लो भागमा कडा खालको माटो वा चट्टान हुन्छ । तल नरम वा पानीमा घुलनशील चट्टान वा माटो भए जमिनमुनिको सतहको पानीले त्यसलाई घोल्दै बगाएर लगे त्यस्तो ठाउ“ भासिन्छ । अझ माथि केही संरचना बनाउ“दा झन् जोखिम हुने विज्ञहरु बताउ“छन् ।

लगातारको वर्षाका कारण जमिनमा चिरा पर्ने तथा भासिने क्रम बढेकाले प्रभावित क्षेत्रको थप प्राविधिक अध्ययन आवश्यक देखिएको प्रशासनले जनाएको छ । स्थलगत् निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वार्टर हेटौंडा, गोरखबक्स गण सुपारेटार ब्यारेक, जिल्ला अनुसन्धान कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि तथा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीसहितको सहभागिता थियो ।